समय : ०१:०६ am | बिहिबार , चैत्र ११ गते २०८२

पुँजीबजार सुधारको माग राख्दै लगानीकर्ताद्वारा नेप्सेको ध्यानाकर्षण

तारा पौडेल | भाद्र ५ गते २०८२

काठमाडौं । पुँजीबजार सुधार अभियानमा संलग्न भनिएका विभिन्न संघसंस्थाको समूहले पुँजीबजारको विभिन्न समस्याहरू सम्बोधन गर्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से) समक्ष माग राखेका छन् । सो समूहले बिहीबार पुँजीबजार सुधारका विभिन्न माग राख्दै नेप्से ज्ञापनपत्र बुझाएको हो ।

‘दोस्रो बजारमा केही संस्थाका संस्थागत लगानीकर्ताहरूले अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर (आईजिन)ंको दुरुपयोग गरी तीन वर्षको लकिङ अवधि पूरा नहुँदै कम्पनीको सेयर बेचेर बाहिरिने गरेको तथ्य विभिन्न पत्रपत्रिकामा आए पनि नियमक निकाय यसलाई कारबाही गर्नुको सट्टा मौन बस्नुले संगठित रुपमा नियमको दुरुपयोग गर्ने प्रवृत्ति बढेको आभास हुन्छ । यस्तो प्रवृतिलाई निरुत्साहित गर्नको लागि नियमक निकायले उच्चस्तरीय छानबिन समिति गठन गर्ने र तत्काल कानूनको दायरामा ल्याउनको लागि हामी जोडदार माग गर्दछौं,’ ज्ञापनपत्रमा भनिएको छ ।

पुँजी बजारलाई थप व्यवस्थित गर्नको तत्काल कार्यान्वयन गर्न भन्दै विभिन्न ७ वटा मागहरू अगाडि सारेका छन् । अन्यथा आम लगानीकर्ताहरू सडक संघर्षमा जाने उनीहरूको भनाइ छ ।

यस्ता छन् माग :

. नेपाल स्टक एक्सचेन्जबाट अभ्यासमा ल्याइएको अन्तिम १५ मिनेटको औसत भार गणना गर्ने विधि पारदर्शी नभएको, यसमा पटकपटक समस्या देखिएको र यस प्रक्रियामा लगानीकर्ताहरू विश्वस्त नदेखिएकोले यसको तत्काल समीक्षा गरेर प्रक्रिया रद्द गरी बजार सुचारु गर्न र मार्केटअप्सनको दुरुपयोग समेत रोक्नको लागि यसलाई पुरै निस्क्रिय पार्ने वा कारोबार समयको अन्तिम पाँच मिनेटमा लागि निष्क्रिय बनाउने कार्य गरियोस् ।  

. नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सबै कम्पनीहरूको संस्थापक र सर्वसाधारणको सेयर रेसियो (५१.४९) को मापदण्डमा एकरूपता हुनुपर्ने । बैंक तथा वित्तीय संस्थामा जस्तै हाइड्रोपावर सेक्टर उत्पादन तथा अन्य क्षेत्रको पनि संस्थापकहरूको सेयर होल्डिङमा एकरुपता ल्याउनुपर्ने ।

३.कम्पनीहरूले घोषणा गरेको पे ब्याक अवधि भित्र संस्थापक लगानीकर्ताहरूले संस्थापक सेयर बेच्न नपाउने व्यवस्था गरियोस् ।

४. कम्पनीहरूको दयनीय अवस्था हुँदाहुँदै राइट सेयर इसु गर्ने व्यवस्थामा तत्काल रोक लगाई कम्पनीहरूको डिभिडेन्ड क्यापसिटी र ग्रोथ, लगानीका थप क्षेत्र यकिनको आधारमा मात्र राइट सेयर दिने व्यवस्था होस् ।

५. अहिले मर्चेन्ट बैंक, क्यापिटलहरूले खुल्लमखुल्ला रुपमा प्री–आईपीओको नाममा प्रिमियममा बजारबाट अनाधिकृत रुपमा पैसा उठाइरहेको विदितै छ यस्तो प्रक्रियालाई तत्काल रोक्नको लागि हामी जोडदार माग गर्दछौं। कुनै पनि सेयरको कारोबार विधिसम्मत हुनुपर्ने र अवैधानिक प्रक्रियाबाट सेयर खरिद बिक्री गर्ने प्रक्रियालाई तत्काल रोकियोस् । सामाजिक सञ्जालको प्रयोग गरेर यस किसिमका गतिविधिले ठूलो मात्रामा राजस्व चुवावट भएको हुनाले सम्बन्धित निकायको समेत ध्यानाकर्षण गराउन चाहन्छौं ।

६. सूचीकृत कम्पनीहरू एवं बजारमा सूचीकरण हुन लागेका कम्पनीहरूको संस्थागत सुशासनमा विशेष ध्यान दिनु जरुरी छ। संस्थाको अडिट रिपोर्ट, व्यवस्थापन, पब्लिक सरोकारका विषयहरू कम्पनीले चुस्त रुपमा आफ्नो वेबसाइटमा राख्नुपर्ने व्यवस्था गरियोस्।

७. कम्पनीहरूको क्रेडिट रेटिङ गर्दा पारदर्शी एवं क्रेडिट रेटिङको रिजल्ट र वस्तुगत यथार्थ फरक परेको देखिएकोले गर्ने क्रेडिट रेटिङ गर्ने संस्थाहरूको समेत चुस्त अनुगमन गरी क्रेडिट रेटिङको रिपोर्ट र वस्तुगत यथार्थताको सुनिश्चितता गर्ने काम गरियोस ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्