काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.१८ प्रतिशत अर्थात ६३.७३ अंकले घटेर २ हजार ८५८.९० विन्दुमा झरेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.०७ प्रतिशतले घटेर ४९०.७५ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको ३ करोड २२ लाख ६० हजार ३४१ कित्ता सेयर १३ अर्ब ७ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे प्राविधिक विश्लेषक सुवासचन्द्र ढुङ्गाना भन्छन्, ‘कारोबारीहरु हाबी हुँदा आज बजार घटेको हो । २९ सय विन्दु आसपासमा बलियो सपोर्ट रहेको थियो । जहाँ बजार टिक्न नसकेपछि आज ठूलो अंकको गिरावट आएको छ ।’Sponsored
उनले हिजाआजको घटाईले बुल ट्रेण्ड रिभर्सल भएको भन्न चाहि नमिल्ने बताए । बजार घट्दा कारोबार घट्दै जानु स्वभाविक रहेको र एक दुई दिनमा बजार सम्हालिएर पुनःमाथि लाग्ने समेत उनले दाबी गरे ।
अर्का बजार जानकार दामोदर गजुरेल बजार घट्नुमा विशेष गरी दुई–तीनवटा कारण रहेको बताउछन् । नाफा बुक, करेक्सन र ब्रोकरहरुले कोल्याट्रल टाइट गरेका कारण कारोबारीहरुले सेयर बिक्री गर्दा बजारमा गिरावट आएको उनको बुझाई छ ।
‘प्राविधिक रुपमा पनि बोलिङ्गरको मध्य ब्याण्डमा आज सपोर्ट लिएको छ । तर म्याक्डिमा भने बियरिस क्रसओृभर देखिन्छ । यसकारण भोलिको कारोबार निर्णायक हुनेछ,’ उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा गिरावट आयो । आज अन्य समूह सर्वाधिक अर्थात ३.९० प्रतिशतले घट्यो ।
यस्तै बैंकिङ समूह २.२४ प्रतिशत, विकास बैंक १.८३, फाइनान्स १.५२, होटल १.०६, हाईड्रो १.०६, लगानी २.१७,जीवन बीमा २.१२, उत्पादन तथा प्रशोधन २.४७, लघुवित्त ३.०२, म्युचुअल फण्ड १.०७, निर्जीवन बीमा १.८५ र व्यापार समूह १.४१ प्रतिशतले घट्यो ।









