समय : १०:१४ am | बिहिबार , चैत्र १२ गते २०८२

नेप्से परिसूचक ५.२१ अंकले घट्यो

अर्थ विशेष | जेठ १२ गते २०८२

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१९ प्रतिशत अर्थात ५.२१ अंकले घटेर २ हजार ६७४.७६ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०८ प्रतिशतले बढेर ४५६.०९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३७ वटा स्क्रिप्टको १ करोड ७१ लाख ६० हजार ६२५ कित्ता सेयर ७ अर्ब ५८ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष तुलसीराम ढकाल भन्छन्,‘सेयर बजारमा घटबढ हुनु सामान्य हो । नेपाल राष्ट्र बैंकले सेयर धितोकर्जाको जोखिमभार घटाएको छ र आज हामीसँगको भेटमा पनि गभर्नर पूँजीबजारप्रति निकै सकारात्मक देखिन्छन् । उनले पूँजी बजारको विकासका लागि सबै पक्षसँग सल्लाह गरेर अघि बढ्ने समेत बताएका छन् ।’

यस कारण पूँजी बजारमा बिस्तारै सकारात्मक माहोल बन्दै गएको तर आज केही बिक्री दबाब पर्दा भने सामान्य अंकले घट्न पुगेको उनले बताए ।

अर्का बजार जानकार अजयसिंह थापा(जयशम्भु)ले ठूला लगानीकर्ता बजारबाट बाहिरिने प्रयास गर्दा सकारात्मक खबर आएपनि बजार आज बढ्न नसकेको बताउछन् । ‘पछिल्लो समय नियामक निकायले संस्थापक लगानीकर्तालाई गरेको कडाईका कारण नेपालको पूँजी बजारबाट बाहिरिने क्रम बढेको छ,’ उनले भने ।

प्राविधिक रुपमा पनि कारोबारीहरु २७७० विन्दुलाई कुरेर बसेका कारण बजारले गति लिन नसकेको समेत उनले बताए ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन समूह ०.७९ र बैंकिङ समूह ०.१७ प्रतिशतले बढ्यो ।

लघुवित्त समूह आज सर्वाधिक अर्थात १.५० प्रतिशतले घट्यो । विकास बैंक समूह पनि आज ०.२७ प्रतिशत, फाइनान्स ०.१२, होटल ०.९१, हाईड्रो ०.०६, लगानी ०.१५, जीवन बीमा ०.२०, म्युचुअल फण्ड ०.०८, निर्जीवन बीमा ०.३२,अन्य ०.४८ र व्यापार समूह ०.१३ प्रतिशतले घट्यो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्