काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३६ प्रतिशत अर्थात ९.९६ अंकले घटेर २ हजार ६८८.३२ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८५ प्रतिशतले घटेर ४५१.८९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको २ करोड २५ लाख ५५ हजार ७१३ कित्ता सेयर ८ अर्ब ३२ करोड १२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल भन्छन्, ‘सरकारले समयमै गभर्नर नियुक्ती गर्न नसक्दा लगानीकर्ताको मनोबल बढ्न सकेको छैन । यही कारण बजारले गति लिन नसकेको हो ।’
उनले समयमै गभर्नर नियुक्त हुन नसक्नुमा चलखेलको आशंका समेत गरे । यसका साथै लगानीकर्ताले छिटोछिटो सेयर कारोबार गर्दा समेत बजारमा खासै सुधार नआएको उनले बताए । यद्यपी बजार सामान्य अंकले मात्रै घट्नु र कारोबार पनि ८ अर्ब हुनुले बजार मजबुत नै रहेको उनले दाबी गरे ।
अर्का बजार जानकार दामोदर गजुरेलले पनि ५–१० अंकसम्मको गिरावटलाई सामान्य मान्नु पर्ने बताए । नयाँ उचाई छुनका लागि बजारले शक्ति सञ्चय गर्दै गरेको हुनसक्ने समेत उनले आँकलन गरे । ‘अब बजेट आउदै गर्दा गभर्नरको नियुक्तीसँगै बजार केही गूड न्यूजको प्रतिक्षामा समेत रहेको छ,’ उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज अन्य समूह सर्वाधिक अर्थात २.०५ प्रतिशतले बढ्यो । होटल समूह १.०४, उत्पादन तथा प्रशोधन १.११ र व्यापार समूह ०.६६ प्रतिशतले बढ्यो ।
लगानी समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज १.७७ प्रतिशत, बैंकिङ ०.६५, विकास बैंक १.६३,फाइनान्स ०.४२, हाईड्रो ०.५३, जीवन बीमा ०.१३, लघुवित्त ०.२५, म्युचुअल फण्ड ०.३६ र निर्जीवन बीमा समूह ०.३२ प्रतिशतले घट्यो ।