काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.२८ प्रतिशत अर्थात ७.७५ अंकले घटेर २ हजार ६९८.२८ विन्दुमा झरेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१६ प्रतिशतले घटेर ४५५.८१ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको २ करोड १२ लाख ३ हजार ७६६ कित्ता सेयर ८ अर्ब ७७ करोड ५७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्,‘सरकारले गभर्नर नियुक्ती समयमै गर्न नसक्दा बजारमा लगानीकर्ताको सेन्टिमेन्ट कमजोर बनेको छ । अहिले लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । यद्यपी नयाँ वर्षको सुरुवातसँगै बजारमा केही सकारात्मक संकतेहरु भने देखिएका छन् ।’
उनले लगानीकर्ता नयाँ गभर्नरको तीव्र प्रतिक्षामा रहेको बताउदै गभर्नर नियुक्तीमा ढिलाई भएको खण्डमा लगानीकर्ताले सरकारलाई दबाब दिन पछि नहट्ने समेत बताए ।
अर्का बजार जानकार अजयसिंह थापा(जयशम्भु) ले विभिन्न आन्दोलन चल्नु र गभर्नर नियुक्तीको विषयले लगानीकर्ता अन्यौलतामा रहेका ले बजारले गति लिन नसकेको बताए । ‘खेलाडी लागि परेको एकाध कम्पनी बाहेक अन्यको सेयरमूल्य खासै बढेको छैन । प्राविधिक रुपमा पनि बजारमा एउटा करेक्सन बाँकी नै रहेको र जेठ महिनामा बजारले खासै गति लिने देखिदैन ’ उनले भने ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज हाईड्रो समूह सर्वाधिक अर्थात ०.७८ प्रतिशतले बढ्यो । विकास बैंक समूह पनि आज ०.१४ प्रतिशत,लगानी ०.११,उत्पादन तथा प्रशोधन ०.२१,लघुवित्त ०.०२, म्युचुअल फण्ड ०.३३ र व्यापार समूह ०.०४ प्रतिशतले बढ्यो ।
होटल समूह आज ०.६३ अंकले बढ्यो ।
आज घटेका ५ वटा समूहमध्ये फाइनान्स समूह सर्वाधिक घट्यो । यो समूह आज १.०७ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.७५ प्रतिशत,जीवन बीमा ०.११, निर्जीवन बीमा ०.०४ र अन्य समूह ०.९० प्रतिशतले घट्यो ।