काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१२ प्रतिशत अर्थात ३.४४ अंकले घटेर २ हजार ६६६.६१ विन्दुमा झरेको छ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.२७ प्रतिशतले घटेर ४४४.४८ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको १ करोड ६ लाख ४३ हजार ४६९ कित्ता सेयर ५ अर्ब ३० करोड ९५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘आज बजार सम्हालिने प्रयास गरेको छ । बजारमा चैत महिनाको दबाब पनि सकिदै गएको छ । अब बजेट पनि आँउदै गर्दा लगानीकर्ताहरुको माग सम्बोधन हुन सक्ने देखिन्छ । तेस्रो त्रैमासको रिपोर्ट पनि राम्रै आउन सक्छ । यस हिसाबले आज बजार तल जान नमानेको हो ।’ यद्यपी बजारमा केही ठूला कम्पनी चलाइएको उनले बताए । आन्दोलन र गभर्नरको विषयले केही अन्यौलता भएता पनि अब बजार क्रमश:सम्हालिने गजुरेलको तर्क छ ।
त्यसैगरि, नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे पनि चैत महिनाको दबाब सकिदै गएको कारण अब बजार सम्हालिने बताउछन् । उनी भन्छन्, ‘आन्दोलनको प्रभाव पनि खासै देखिएको छैन । गभर्नरको विषय पनि सहमतिमै टुङ्गिन सक्छ ।’ बजेट आउदै गर्दा लगानीकर्ताहरुको माग पनि सम्बोधन हुने अपेक्षा पाण्डेले गरे ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ वटा समूहमा हरियाली छायो भने अन्य ७ वटा समूहमा रातो पोतियो । उत्पादन तथा प्रशोधन समूह आज सर्वाधिक अर्थात १.८३ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.०२,फाइनान्स ०.९२,लघुवित्त ०.१६ र व्यापार समूह ०.९१ प्रतिशतले बढ्यो ।
अन्य समूह आज सर्वाधिक अर्थात ०.६१ प्रतिशतले घट्यो । विकास बैंक समूह पनि आज ०.३५, होटल ०.५४,हाईड्रो ०.२२,लगानी ०.२८,जीवन बीमा ०.०८ र म्युचुअल फण्ड समूह ०.०७ प्रतिशतले घट्यो ।









