समय : ०१:०६ am | बिहिबार , चैत्र ११ गते २०८२

दोहोरो अंकले घट्यो नेप्से

अर्थ विशेष | चैत्र १९ गते २०८१

काठमाण्डौ । सोमबारको बिदापछि खुलेको सेयरबजार आज घटेको छ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.६२ प्रतिशत अर्थात १६.९५ अंकले घटेर २ हजार ६७६.१७ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७९ प्रतिशतले घटेर ४४६.६९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको १ करोड ६ लाख ७० हजार ६४९ कित्ता सेयर ५ अर्ब ७९ करोड ७७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आज ४२ वटा स्क्रिप्टको मूल्य बढ्दा २०१ वटाको घट्यो ।

गभर्नरमा गलत पात्र आउने भयले लगानीकर्ताको मनोबल कमजोर, दोहोरो अंकले घट्यो नेप्सेपछिल्ला केही दिन खराब इतिहास बनाएका गभर्नर महाप्रसाद अधिकारीको बहिर्गमनको मिति नजिकिँदै जाँदा र आगामी गभर्नरको रुपमा बजारमैत्री र अर्थतन्त्रलाई राम्रोसँग बुझेको व्यक्ति आउनसक्ने सम्भावनाका कारण लगानीकर्ताको मनोबल बलियो भएको थियो । राम्रो पात्र गभर्नरको रुपमा आउने आशासहित उच्च मनोबलका साथ लगानीकर्ताले खरीदबिक्रीको निर्णय गर्दा बढिरहेको बजार आज एकाएक घट्नु पछाडिको मुख्य कारण नै सत्ता गठबन्धनका शीर्ष नेताहरुले बिचौलियाका प्रतिनिधिलाई गभर्नरमा नियुक्ति दिलाउन रातारात गरेको चलखेललाई लिन सकिन्छ । राम्रो गभर्नर आउने भए भन्ने खबरले उत्साहित लगानीकर्ता बिचौलियाले चाहेको व्यक्तिलाई गभर्नर ल्याउने कसरत भएको पछिल्लो खबरले तर्सिएका विश्लेषकहरु बताउँछन् । त्यसकै प्रतिक्रियाको रुपमा आजको बजारलाई लिनुपर्ने उनीहरुको तर्क छ ।

आजको बजारबारे बजार जानकार पर्वत विष्ट भन्छन्, ‘आज राजनीतिक विषयले बजार घटेको छ । लगानीकर्ता राष्ट्र बैंकमा नयाँ गभर्नर को बन्ला ? भनेर चासोपूर्वक हेरिरहेका छन् । यस्तै नेप्सेका नवनियुक्त सीईओ कसरी अघि बढ्छन् भन्ने लगानीकर्तामा कौतुहलता देखिन्छ ।’

उनले प्राविधिक रुपमा बजार ठिक देखिएपनि राजनीतिक घट्ना क्रमले भने तत्कालै ठूलो अंकले बढ्ने सम्भावना नरहेको बताए ।

त्यस्तै अर्का बजार जानकार प्रकाश रजौरे भन्छन्, ‘यतिबेला लगानीकर्ता राष्ट्र बैंकको गभर्नर नियुक्तीको व्यग्र प्रतिक्षामा छन् । नयाँ आउने गभर्नरले अबलम्बन गर्ने नीतिहरुप्रति लगानीकर्ताको मुख्य चासो रहेको छ ।’

आज बजार घट्नुको पछाडि भने लगानीकर्ताको मनाबेलमा कमी आउनु मुख्य कारण रहेको रजौरेले बताए । बजार माथि जान खोजिरहेको तर नयाँ विकसीत घटनाक्रमले भने अवरोध सिर्जना गरिरहेको उनले बताए ।

यस्तै उनले यो साता बजारमा खासै सुधार नआउने देखिएपनि आगामी साताबाट भने बजारमा क्रमिश सुधार आउने दाबी गरे ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो । आज व्यापार समूह मात्रै बढ्यो । यो समूह ४.२९ प्रतिशतले बढ्यो ।

फाइनान्स समूह आज सर्वाधिक अर्थात १.८२ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.७४ प्रतिशत, विकास बैंक ०.९३,होटल १.७८, हाईड्रो ०.९२, लगानी ०.२६,जीवन बीमा ०.५६, उत्पादन तथा प्रशोधन ०.४१,लघुवित्त ०.९५, म्युचुअल फण्ड ०.०४, निर्जीवन बीमा ०.४७ र अन्य समूह १.५८ प्रतिशतले घट्यो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्