काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२८ प्रतिशत अर्थात ७.६६ अंकले घटेर २ हजार ६९७.०४ विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले घटेर ४५२.८९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१३ वटा स्क्रिप्टको ८२ लाख ३७ हजार ९०२ कित्ता सेयर ४ अर्ब ३४ करोड ६६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा आज कारोबारमा गिरावट आएको छ । अघिल्लो दिन ५ अर्ब ४० करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।
आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘आजको बजार हेर्दा घट्ने क्रम रोकिएको र सेयर एक्युमुलेशन चलेको देखिन्छ । यद्यपी बजार यही कारण माथि जान भने सकेन । नयाँ गभर्नर आएसँगै नयाँ वर्षबाट बजारले नयाँ गति लिनेछ ।’
उनले आज किन्ने र बेच्ने दुवै समूह पर्ख र हेरको अवस्थामा बस्दा बजार बढ्न नसकेको बताए ।
अर्का बजार जानकार अर्जुन थापाले पनि राजनीतिक विषयका कारण लगानीकर्ता अन्यौलमा रहेका कारण बजारले गति लिन नसकेको बताउछन् । ‘१५ गतेदेखि माओवादी र राजावादीको आन्दोलनका कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा बसेका छन्,’ उनले भने ।
उनले कम्पनीको तेस्रो त्रैमासिक प्रतिवेदनपश्चात बजारमा सुधार आउने आँकलन गरे ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो । आज अन्य समूह ०.११ प्रतिशतले बढ्यो ।
जीवन बीमा समूह आज सर्वाधिक अर्थात ०.७० प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.१४ प्रतिशत,विकास बैंक ०.४२,वित्त ०.१७, होटल ०.३६,हाईड्रो ०.१७,लगानी ०.४२,उत्पादन तथा प्रशोधन ०.२३,लघुवित्त ०.३१,म्युचुअल फण्ड ०.३७,निर्जीवन बीमा ०.५४ र व्यापार समूह ०.६६ प्रतिशतले घट्यो ।









