समय : ०८:४८ pm | बुधबार , चैत्र ११ गते २०८२

लगातार ७ दिन बढ्यो नेप्से

अर्थ विशेष | फागुन १३ गते २०८१

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.२५ प्रतिशत अर्थात ७.१३ अंकले बढेर २ हजार ७६५.८८ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१७ प्रतिशतले बढेर ४६०.०६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड ७८ लाख ६५ हजार ७०३ कित्ता सेयर ९ अर्ब ९० करोड ९३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको वृद्धिसँगै सेयर बजार लागातार ७ दिन बढेको छ । यो अवधिमा सेयर बजार ८७.३९ अंकले बढ्यो । आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘ अहिले बजारले लय समात्नु मुख्य गरी दुईवटा कारण रहेका छन् । जसमा आउँदै गरेको मौद्रिक नीतिको समीक्षा र गभर्नरको बहिर्गमन विषय हो । विगतमा पनि नयाँ गभर्नर आउदै गर्दा पुराना गभर्नरको गल्तिहरु सुधारेका कारण लगानीकर्तामा मनोबल बढ्न गएको छ ।’

यस्तै उनले अहिले ब्याजदर सस्तो भएकाले समेत बजारमा अहिले दैनिक १०÷१२ अर्बको कारोबार निकै न्यून भएको र आगामी दिनमा ५० अर्बसम्म कारोबार हुने आँकलन गरे ।

अर्का बजार जानकार तथा प्राविधिक विश्लेषक समेत रहेका सुवासचन्द्र ढुंगानाले पनि बजार यतिबेला बुलिस नै रहेको बताए । ‘यद्यपी सानो समय अवधिमा बजार सप्लाई जोनमा समेत रहेका कारण आगामी कारोबारमा ठूलो अंकको उतारचढाव देखिने सम्भावना छ, ’उनले भने ।

उनले मौद्रिक नीतिको समीक्षा आउदै गर्नु र नयाँ गभर्नरको आगमनको विषयले बजार बढ्ने सम्भावना रहेको बताए ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटामा हरियाली छायो भने अन्य ६ वटा समूहमा रातो पोतियो । आज अन्य समूह सर्वाधिक अर्थात २.९० प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.०२ प्रतिशत, होटल ०.०५, लगानी ०.७७, जीवन बीमा ०.८१, उत्पादन तथा प्रशोधन ०.१८ र म्युचुअल फण् समूह ०.०५ प्रतिशतले बढ्यो ।

यो दिन व्यापार समूह सर्वाधिक २.५१ प्रतिशतले घट्यो । विकास बैंक समूह पनि आज ०.१२ प्रतिशत, वित्त ०.७१, लघुवित्त ०.१५,निर्जीवन बीमा ०.२८ प्रतिशत र हाईड्रो समूह ०.०६ अंकले घट्यो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्