काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक २.६२ प्रतिशत अर्थात ६९.८० अंकले बढेर २ हजार ७२७.५८ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.०६ प्रतिशतले बढेर ४५८.३७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३० वटा स्क्रिप्टको २ करोड ४८ लाख ४८ हजार ०७९ कित्ता सेयर १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्, ‘आजको बजार बढ्नुलाई नयाँ आउने गभर्नरको स्वागत र हालका गभर्नरको बिदाईको रुपमा लिन सकिन्छ । नयाँ गभर्नर आएसँगै नीतिहरु परिवर्तन हुने कुराले लगानीकर्ता उत्साहित देखिएका छन् ।’
यस्तै बैंकहरुमा भएको प्रयाप्त तरलता र बजारको समग्र अवस्था सुधारोन्मुख रहेकाले आज बजारमा उछाल देखिएको रौनियारले बताए । ‘आजको जस्तै उच्च कारोबार आगामी दिनमा पनि भए बजारले बिस्तारै गति लिनेछ,’ उनले भने ।
अर्का बजार जानकार उपेन्द्र पाठकले पनि नयाँ गभर्नरको विषयमा आज बजारमा सकारात्मक प्रभाव परेको बताए । ‘हालका गभर्नरको कार्यकाल समाप्त हुँदैछ । जादाजादै हालका गभर्नरले नीतिमा परिवर्तन गर्ने वा नयाँ आउने गभर्नरले यस्तो गर्नसक्ने सम्भावनाका बीच आज बजारमा उच्च वृद्धि देखिएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा पनि बजारलाई सकारात्मक प्रभाव पार्ने कुरा आउन सक्ने उच्च सम्भावना भएकाले बजारमा उत्साह छाएको छ,’ उनले भने ।
धेरै दिनपनि आज खुलेको बजारमा आज भोल्युम बढेको देखिएको र यही आधारमा बढ्दै जाने हो भने पहिलेको रेकर्ड पनि तोडिने उनले बताए ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज लघुवित्त समूह सर्वाधिक अर्थात ४.९२ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह २.५२ प्रतिशत, विकास बैंक ३.१५,फाइनान्स १.२९,होटल १.८२,हाईड्रो १.४१,लगानी ३.३८,जीवन बीमा २.४३,उत्पादन तथा प्रशोधन ३.०७,म्युचुअल फण्ड ०.१७,निर्जीवन बीमा ३.७१ र अन्य २.६३ प्रतिशतले बढ्यो ।









