काठमाडौं । हिमालयन बैंक लिमिटेडले विभिन्न ७ जना संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको १५ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि १५ लाख ५१ हजार २५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।
शेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक शेयरधनीहरुले काठमाडौं कमलादीमा रहेको बैंकको केन्द्रीय कार्यालयको कानून विभागमा आवश्यक कागजातसहित निवेदन पेश गर्नुपर्नेछ ।
संस्थापक शेयरधनीले शेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। संस्थापक शेयरहरुको मूल्य बिक्रेताअनुसार फरक–फरक भएकाले रहेकाले मूल्य सम्बन्धी जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।
तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई शेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।