राष्ट्रपति रामचन्द्र पौडेल आन्दोलनकारी जेन–जी पुस्ताको माग बमोजिम नै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन तयार भएका छन्। शीतल निवासमा संविधानविद्सँग परामर्श लिएपछि उनी कार्कीलाई प्रधानमन्त्री बनाउन तयार भएका हुन्।
कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति पौडेलले बिहीबार दिनभर र मध्यरातसम्मै छलफल र परामर्श जारी राखेका छन्। उनले बिहीबार राजनीतिक दलका प्रमुख नेताहरू र संविधानविदहरूसँग अलग अलग छलफल गरे। उच्च राजनीतिक स्रोतका अनुसार बिहीबार दिउँसो राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त रूपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए।
तर संवैधानिक संकटबारे राष्ट्रपति पौडेल गम्भीर बनेका छन्। संविधानविद्सँगै राष्ट्रपति पौडेल र पूर्व प्रधानन्यायाधीश कार्कीबीच संवैधानिक संकट र निकासको विषयमा वार्ता भएको छ। वार्तामा सहभागी एक अधिकारीका अनुसार कार्कीले संसद् जीवित रहँदै गैरसांसदलाई प्रधानमन्त्री बनाउने बाटो संविधानले नदिएको तर्क गर्दै पहिले संसद् विघटन गर्नुपर्ने अडान राखेकी छन्।









