काठमाडौं । चालु आर्थिक वर्ष (आव)को १० महिनामा नेपालमा २४ अर्ब बढीको सुन र २१ अर्ब बढीको सुन आयात भएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकले १० महिनाको अवधिमा मोबाइल र सुन सो मात्रामा आयत भएको देखाएको हो ।
विभागद्वारा सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको वैशाख मसान्तसम्ममा २४ अर्ब १ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरको १५ लाख २८ हजार ६४४ थान मोबाइल आयात भएको छ । विभागका अनुसार सो अवधिमा आयात भएका मोबाइल फोनमा लगाइएको भन्सार करमार्फत सरकारले ४ अर्ब ४७ करोड १३ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेको छ ।
वैशाख मसान्तसम्मको वैदेशिक व्यापारमा सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको भएको छ । यो अवधिमा एक खर्ब १५ अर्ब ६७ करोड बराबरको डिजेल ५६ अर्ब ८० करोड बराबरको डिजेल र ४६ अर्ब बराबरको खाना पकाउने ग्यास आयात भएको छ । सोही अवधिमा २४ अर्ब एक करोड बराबरको मोबाइल फोन आयात भएको छ ।
नेपालले बढी निर्यात गरेका वस्तुमा कार्पेट आठ अर्ब ७९ करोड, अलैंची छ अर्ब ९१ करोड, फलामजन्य वस्तु पाँच अर्ब ५२ करोड र पाम आयल पाँच अर्ब ६० करोड बराबर छ ।
त्यस्तै सोही अवधिमा नेपालमा २१ अर्ब ६५ करोड १ लाख ३३ हजार रुपैयाँ बराबरको २ हजार ४ सय ५१ केजी ८६४ ग्राम सुन आयात भएको छ । सरकारले सो सुन आयातको क्रममा भन्सार करबापत ३ अर्ब २४ करोड ७५ लाख ४८ हजार आम्दानी गरेको विभागको तथ्यांकले देखाएको छ ।









