काठमाडौँ। अमूल्य जडीबुटी तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको समृद्ध देश मानिए पनि स्वदेशी जडीबुटीको प्रयोग प्रचुरमात्रामा नहुँदा राष्ट्रलाई आर्थिक विकासको बाटोमा अग्रसर गराउने प्रयत्न साकार भएको छैन ।
कच्चा पदार्थका रूपमा निर्यात हुँदै आएको जडीबुटीलाई ब्रान्डिङ गरेर मुलुकको आर्थिक समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिने वनस्पति जगत्का जानकारका साथै व्यापारी र जडीबुटीमा सरोकार भएकाहरूले बताएका छन् । उपलब्ध स्रोतको सही उपयोग गरेर स्वदेशमा बृहत् आयुृर्वेद अस्पताल र औषधि उद्योग सञ्चालन गर्न सकिने उनीहरूको कथन छ ।
देशका विभिन्न भागमा औषधीय गुण भएका असङ्ख्य वनस्पति तथा जडीबुटी पाइने भए पनि तीमध्ये धेरैजसो सस्तो मूल्यमा विदेशिने गरेका छन् । हाम्रै जडीबुटीबाट बनेका औषधि महँगोमा आयात भइरहेका छन् ।
वनस्पति विभागका अनुसार देशमा ८१९ प्रजातिका जडीबुटी पहिचान भएका छन् । ती मध्ये ३३ प्रजाति आर्थिक विकासका लागि प्राथमिकतामा राखिएका छन् । करिब १२० प्रजातिको खेती भइरहेको छ भने २०० भन्दा बढी प्रजातिबाट सुगन्धित तेल उत्पादन गर्न सकिन्छ ।
विश्व बजारमा नेपालको हिस्सा अत्यन्त न्यून—करिब ०.००६ प्रतिशत छ । गत आवमा रु दुई अर्ब चार करोड बराबरको जडीबुटी निर्यात भएको निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । औषतमा वार्षिक रु एक अर्ब २४ करोड बराबरको जडीबुटी निर्यात हुने गरेको छ ।
निर्यात हुने जडीबुटीमध्ये करिब ९० प्रतिशत कच्चा रूपमै बाहिरिने भएकाले अपेक्षित मूल्य अभिवृद्धि हुन नसकेको विभागका महानिर्देशक सञ्जीवकुमार राई बताउँछन् ।
संरचना सुदृढीकरण, नवीन प्रविधि, अनुसन्धान तथा निजी–सामुदायिक सहकार्य विस्तारमार्फत जडीबुटी क्षेत्रलाई आर्थिक वृद्धिको सशक्त माध्यम बनाउन सकिने उनी बताउँछन् । स्वदेशमा नै प्रशोधन गरेर औषधि उत्पादन गर्न सकेमा जडीबुटीलाई समृद्धिको बलियो आधार बनाउन सकिन्छ ।
“नेपालमै प्रशोधन गरेर औषधि उत्पादन गर्न सके समृद्धिको बलियो आधार तयार हुन्छ,” उनले भने । जडीबुटीमा अध्ययन–अनुसन्धान बढाई रासायनिक संरचना पहिचान तथा पेटेन्ट लिन सके अन्तर्राष्ट्रिय प्रतिस्पर्धा बढाउन सकिने उनको कथन छ ।
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले पामारोजा, लेमनग्रास, सिट्रोनेला, मेन्था, केमोमाइललगायत औषधि उत्पादन गर्दै आएको छ । कम्पनीका उत्पादन ‘सन्चो, हिमालयन मसाज आयल, शिलाजित पेस्ट’ बजारमा उपलब्ध छन् । अधिक लागतका कारण ठूलो परिमाणमा औषधि उत्पादन हुन नसकेकोे कम्पनीको दुखेसो छ ।
सामुदायिक वन उपभोक्ता महासङघले कानुनी जटिलताका कारण जडीबुटी उत्पादन र ओसारपसारमा अवरोध भइरहेको बताएको छ । महासङ्घका अध्यक्ष ठाकुरप्रसाद भण्डारी अनुदान, सहजीकरण र बजार व्यवस्थापन गरेमा आर्थिक विकासमा यो क्षेत्रबाट अतुलनीय योगदान हुने बताउँछन् ।
वनस्पति क्षेत्रका जानकार नवीन जोशी जडीबुटीको प्रशोधन र ब्रान्डिङबाट आम्दानी बढाउन सकिने बताउँछन् । त्यसो गर्नसके उच्च मूल्य र प्रतिफल प्राप्त गर्न कठिन नहुने उनको अभिमत छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल पनि जडीबुटी क्षेत्रलाई औद्योगिक उत्पादन र निर्यातको आधार बनाउन सकिने बताउँछन् । जडीबुटीको निर्यातबाट देशलाई समृद्ध बनाउन सकिने उनको ठम्म्याइ छ ।









