काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा रहेको आफ्ना स्वामित्वको २ लाख कित्ता शेयर एनआईसी एसिया बैंकले आज चैत २६ गतेबाट बिक्रीमा राखेको छ।
एनआईसी एसिया बैंकले सूर्यज्योति लाइफको संस्थापक शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो। यो शेयरमा प्रचलित कानुनबमोजिम योग्य लगानीकर्ताले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १७५ रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
लगानीकर्ताले न्यूनतम ५ हजार कित्ता शेयरका लागि बोलपत्र पेस गर्न सक्नेछन्। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।
बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलका साथै थापाथलीमै रहेको एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालयसँगै शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतमा पेस गर्न सकिनेछ। बोलपत्र आउँदो वैशाख ३ गतेसम्म पेस गर्नुपर्नेछ।









