काठमाडौं । नासा सेक्युरिटिज कम्पनीले मार्जिन ट्रेडिङ सुविधा सञ्चालनमा ल्याएको छ।
नियामक निकायले मार्जिन कारोबार कार्यप्रक्रिया लागू गरेलगत्तै यो सेवा लागू गर्ने नासा सेक्युरिटिज नेपालकै पहिलो ब्रोकर कम्पनी बनेको छ। मार्जिन ट्रेडिङ सुविधा प्रदान गर्न सुरुगरेको पहिलो दिनमै नासा सेक्युरिटिजले आफ्ना ग्राहकलाई १४ करोड रुपैयाँबराबरको मार्जिन ट्रेडिङ सुविधा प्रदान गरेको छ। यो उपलब्धिले नासाको नवप्रवर्तनप्रतिको प्रतिबद्धता र नेपालको पुँजीबजार विकासमा नेतृत्वदायी भूमिकालाई स्पष्ट गर्दछ।
मुख्य विशेषताहरु
लगानीकर्ताले ३० प्रतिशत प्रारम्भिक मार्जिन राखी कारोबार गर्न सक्नेछन् र बाँकी ७० प्रतिशत रकम नासाबाट उपलब्ध हुनेछ।
सुविधा रकम रु. १० लाखदेखि रु. २ करोडसम्म उपलब्ध हुनेछ।
अवधि १ महिना, २ महिना र ३ महिना।
ब्याज तथा सेवाशुल्क करिब १ प्रतिशत प्रतिमहिना, लामो अवधिमा छुटको व्यवस्था।
जोखिम व्यवस्थापन
न्यूनतम २० प्रतिशत सम्भार मार्जिन कायम राख्नुपर्ने।
सम्भार मार्जिन २० प्रतिशतभन्दा कम भएमा मार्जिन कल गरिने।
नियामक निकायको मार्जिन ट्रेडिङ कार्यबिधि २०८२ पूर्ण रुपमा पालन गर्नुपर्ने।
योग्य धितोपत्र
मार्जिन कारोबार नेप्सेद्वारा स्वीकृत कम्पनीहरुको सूचीभित्र मात्र गर्न पाइनेछ।
सेवा लिनका लागि प्रक्रिया
मार्जिन डिम्याट खाता र मार्जिन ट्रेडिङ खाता खोल्नुपर्ने।
प्रक्रिया पूरा गरी मार्जिन सम्झौतामा हस्ताक्षर गर्नुपर्ने।
यस सुविधाको सुरुआतसँगै नासा सेक्युरिटिजले लगानीकर्ताको सहभागिता वृद्धि, बजारमा तरलता अभिवृद्धि तथा लगानी अवसरहरु विस्तार गर्ने लक्ष्य राखेको छ।









