नेपालगन्ज । बाँके प्रहरीले पछिल्लो ६ महिनामा फरार प्रतिवादीमाथि कडाइ गर्दै ३ करोड ३५ लाखभन्दा बढी जरिवाना असुल गरेको छ। यस अवधिमा २७० जना फरार अभियुक्त पक्राउ परेका छन् भने उनीहरूलाई १२५ वर्षभन्दा बढी कैद सजाय तोकिएको छ।
प्रहरीका अनुसार असोजदेखि फागुनसम्म १,१३२ मुद्दा दर्ता हुँदा ९३९ जना पक्राउ परेका छन्। भन्सार छली नियन्त्रणमा मात्रै करिब १ करोड ९५ लाख रुपैयाँ राजस्व उठाइएको छ, जहाँ ४९ जना पक्राउ परेका छन्।ट्राफिक कारबाही पनि उस्तै कडा देखिएको छ। १५ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा पर्दा १ करोड २७ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ।
लागूऔषध नियन्त्रणमा २१२ जना पक्राउ परेका छन्। ठूलो परिमाणमा ब्राउनसुगर, गाँजा, ट्याब्लेट र अन्य लागूपदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
गम्भीर आपराधिक घटनामा संलग्न फरार अभियुक्तलाई पनि धमाधम समात्दै अनुसन्धानलाई तीव्र बनाइएको प्रहरीले बताएको छ।








