काठमाडौं । चालु आर्थिक वर्ष २०८२-८३ को फागुन मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब २९ करोड ६७ लाख रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको फागुन मसान्तसम्मको प्रतिवेदन अनुसार यो रकम नेपालको कुल गार्हस्थ्य उत्पादनको ४७.१३ प्रतिशत हो ।
चालु आर्थिक वर्षको सुरुवात २०८२ साउन १ मा नेपालको कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड ७७ लाख रुपैयाँ रहेको थियो । फागुन मसान्तसम्म आइपुग्दा यसमा २ खर्ब ४ अर्ब २४ करोड रुपैयाँ थप वृद्धि भएको कार्यालयले जनाएको हो ।
कुल सार्वजनिक ऋणमध्ये बाह्य ऋणको हिस्सा ५३.१६ प्रतिशत अर्थात् १५ खर्ब ३० अर्ब १८ करोड १० लाख र आन्तरिक ऋणको हिस्सा ४६.८४ प्रतिशत अर्थात् १३ खर्ब ४८ अर्ब ११ करोड ५७ लाख रहेको छ । कुल गार्हस्थ्य उत्पादनको अनुपातमा आन्तरिक ऋण २२.०७ प्रतिशत र बाह्य ऋण २५.०६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
सरकारले चालु आर्थिक वर्षमा कुल ५ खर्ब ९५ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा फागुन मसान्तसम्ममा ३ खर्ब ४६ करोड ७२ लाख रुपैयाँ अर्थात् ५०.४४ प्रतिशत प्राप्त भएको छ ।
जसमध्ये समीक्षा अवधिमा सरकारले आन्तरिक ऋणतर्फ वार्षिक लक्ष्यको ६७.३१ प्रतिशत अर्थात् २ खर्ब ४३ अर्ब ६६ करोड ६९ लाख प्राप्त गरेको छ भने बाह्य ऋणतर्फ वार्षिक लक्ष्यको २४.३१ प्रतिशत ५६ अर्ब ८० करोड ३ लाख प्राप्त गरेको छ ।
सरकारले फागुन मसान्तसम्ममा ऋणको साँवा र ब्याज भुक्तानीमा कुल २ खर्ब ४२ अर्ब २६ करोड ८६ लाख रुपैयाँ खर्च गरेको छ । यो वार्षिक बजेट विनियोजनको ५८.९४ प्रतिशत हो ।








