समय : ०५:०४ pm | बुधबार , माघ २१ गते २०८२

यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात

अर्थ विशेष | माघ १५ गते २०८२

पर्वत । यसवर्ष पर्वतबाट ३२ करोड रुपैयाँको सुन्तला निर्यात गरिएको छ । जिल्लाका विभिन्न स्थानमा उत्पादन भएको सुन्तलाबाट ३२ करोड पाँच लाख रुपैयाँ भित्रिएको कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाको सबैभन्दा बढी सुन्तला उत्पादन हुने स्थान बाँसखर्कबाट मात्र २० करोडका सुन्तला निर्यात भएको छ ।

यस्तै, मल्लाजको पूर्णगाउँ, रातमाटा, शालिजा, भोटेडाँडा, मोदी गाउँपालिकाको देउपुर, बाजुङ, चित्रे, फलेवास नगरपालिकाको कुर्घा, पाङराङ, ठानामौला, लिमिठानालगायत स्थानमा उत्पादन भएका सुन्तला जिल्लाबाट अन्यत्र निर्यात गरिएको हो ।

कार्यालयका अनुसार यसवर्ष तीन हजार ४२१ मेट्रिकटन सुन्तला उत्पादन भएर निर्यात भएको हो । कृषकले प्रतिकिलोग्राम ९५ देखि १२० रुपैयाँसम्म बोटबाटै बिक्री गरेको कृषि विकास कार्यलयले जनाएको छ । कार्यालयका सूचना अधिकारी सोविता सुवेदीले पर्वतमा चालु आर्थिक वर्षमा सुन्तला उत्पादन पनि राम्रो भएको र बजार मूल्य पनि राम्रो पाएको जानकारी दिए ।

व्यावसायिक रूपमा सुन्तलाखेती गरिरहेका किसान यसवर्ष सुन्तलाको राम्रो मूल्य पाएको भन्दै हर्षित बनेका छन् । गाउँ–गाउँमा सडकको सुविधा पुगेसँगै काठमाडाै‌, नारायणगढ, पोखरालगायत स्थानबाट व्यापारीले बगानमै आएर सुन्तला लगेका थिए । गाउँमा सडक पुगेपछि आफैँले लगेर काठमाडौँ तथा बुुटवलका बजारमा बिक्री गर्न पाएको तथा बजारका व्यापारी पनि गाउँमै आएर सुन्ताल किनेर लाने गरेको किसानहरूले बताएका हुन् ।

एउटै टोलबाटै एक करोडदेखि डेढ करोड रुपैयाँसम्म सुन्तला बिक्री गर्न सफल भएको फलेवास नगरपालिका–११ का कृषक रामप्रसाद गौतमले बताए । पछिल्लो सुन्तला कृषकलाई प्रोत्साहन दिनका लागि प्रदेश सरकार र स्थानीय तहहरूले पनि विभिन्न सहयोग गर्दै आएका छन् । किसानलाई विभिन्न स्थलगत तालिम दिनेदेखि, गोडमेल गर्ने, चुन, नीलोतुथो जस्ता विषादी पनि दिने गरिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्