काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र संयुक्त अरब इमिरेट्स (यूएई)को वित्त मन्त्रालयका सचिव अब्दुल्ला अहमद अल सालेहबीच भेटवार्ता भएको छ। भेटवार्तामा नेपाल–यूएईबीचको द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ गर्दै व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने विषयमा छलफल गरिएको छ।
यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीको उपस्थितिमा सम्पन्न भेटवार्तामा दुवै पक्षले आगामी दिनमा पारस्परिक लाभका आधारमा आर्थिक सहकार्यलाई अझ प्रभावकारी बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
भेटका क्रममा महासंघका अध्यक्ष ढकालले नेपालमा रहेका सम्भावित लगानी क्षेत्रबारे जानकारी गराउँदै निजी क्षेत्रबीचको सहकार्य सुदृढ हुनुपर्ने आवश्यकता औंल्याए। उनले जलविद्युत्, पर्यटन, कृषि प्रशोधन, ठूला पूर्वाधार तथा सूचना प्रविधि (आईटी) क्षेत्रलाई प्राथमिकतामा राख्दै व्यापार तथा लगानी सहकार्य विस्तार गर्न सकिने बताए।
अध्यक्ष ढकालले काठमाडौंका लागि एमिरेट्स एयरलाइन्सको प्रत्यक्ष उडान सुरु भएमा पर्यटन, व्यापार तथा समग्र व्यावसायिक आवागमनमा उल्लेखनीय सकारात्मक प्रभाव पर्ने धारणा राखे।
यूएई वित्त मन्त्रालयका सचिव अल सालेहले नेपालले प्रस्तुत गरेका परियोजना तथा लगानी अवसरप्रति यूएई पक्ष सकारात्मक रहेको उल्लेख गर्दै निजी क्षेत्रबीचको सहकार्य विस्तार गर्न तयार रहेको बताए। उनले सहकार्यलाई ठोस परिणामतर्फ लैजाने प्रतिबद्धता पनि व्यक्त गरे।









