समय : ११:५० pm | मङ्गलबार , चैत्र ३ गते २०८२

करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

अर्थ विशेष | पौष १७ गते २०८२

काठमाडौँ । गत असारमा आएको बाढीका कारण ठप्प बनेको नेपालको उत्तरी रसुवागढी अन्तर्राष्ट्रिय नाका करिब छ महिनापछि पूर्ण रूपमा सञ्चालनमा आएको छ । मितेरी पुल बगाएपछि बन्द रहेको नाका आज बिहानदेखि सवारीसाधनसहित नियमित कारोबारका लागि खुला गरिएको हो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले पुल बगाएपछि नाका पूर्ण रूपमा बन्द भएको थियो । नाका पुनः सञ्चालनका लागि चीन सरकारको सहयोगमा ९१ मिटर लामो बेलिब्रिज निर्माण भएपछि सवारी आवागमन सम्भव भएको उनले बताए । उक्त पुलको भारवहन क्षमता ५५ टन रहेको छ ।

नाका खुलेसँगै चिनियाँ सामान आयातको प्रक्रिया पनि सुरु भएको छ । सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरका अनुसार आठ वटा नेपाली कन्टेनर मितेरी पुल पार गर्दै केरूङतर्फ गइसकेका छन् भने अन्य सवारीसाधन पनि तयारी अवस्थामा रहेका छन् ।

नाका बन्द रहँदा भन्सार राजस्वमा ठूलो क्षति पुगेको भन्सार कार्यालयले जनाएको छ । प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा हालसम्म २२ अर्ब रुपैयाँभन्दा बढी राजस्व नोक्सान भइसकेको छ ।

यद्यपि नाका खुले पनि स्याफ्रुबेँसी–रसुवागढी सडक खण्डको अवस्था अझै चुनौतीपूर्ण रहेको सवारी चालकहरूको गुनासो छ । रसुवा यार्साका सुकु तामाङका अनुसार सडक जीर्ण हुँदा मालवाहक सवारी सञ्चालनमा कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ । उनले सरोकारवाला निकायलाई सडक मर्मत र सुरक्षा उपायमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।

असारको बाढीले दर्जनौँ स्थानमा सडक कटान गरेपछि गल्छी–रसुवागढी सडक सुधार आयोजनाले ट्र्याक खोल्ने काम त गरेको थियो, तर टेवा पर्खाल पर्याप्त रूपमा मजबुत नबनाउँदा जोखिम कायम रहेको स्थानीय र चालकहरूको भनाइ छ । नाका सञ्चालनसँगै अब पूर्वाधार सुधारमा पनि तीव्र ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्