समय : ०२:०८ pm | बुधबार , फागुन २० गते २०८२

राजधानीमै छैन पर्यटक बसको बसपार्क

अर्थ विशेष | मंसिर २८ गते २०८२

काठमाडौँ । मुलुकको सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा सडकबाट गुड्न बाध्य भएका छन् ।

मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटक बसका लागि व्यवस्थित बसपार्क नहुँदा काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेस्थित सडकबाट पर्यटक बस गुड्न बाध्य भएका हुन् ।

विगत तीन दशकदेखि काठमाडौँको कान्तिपथ सडकलाई पर्यटक बसपार्कका रुपमा सञ्चालन गर्दै आए पनि विसं २०७५ असार १६ गतेदेखि उक्त बसलाई काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेको सडकबाट सञ्चालन गरिएको थियो । महानगरपालिका, ट्राफिक प्रहरीलगायतले कान्तिपथ क्षेत्रमा धेरै भीडभाड हुने भएकाले उक्त क्षेत्रबाट पर्यटकीय बसपार्क हटाएर सोह्रखुट्टे सडकमा सारेको थियो । 

कान्तिपथबाट सोह्रखुट्टे सडकमा पर्यटक बसपार्क सरेको सात वर्ष बितिसक्दा पनि पर्यटक बसपार्कका लागि छुट्टै स्थान नहुँदा सडकबाटै पर्यटक बस गुड्न बाध्य भएका छन् । हाल पर्यटक बस काठमाडौँदेखि पोखरा, चितवनको सौराहा, लुम्बिनी  र जनकपुरलगायतका प्रमुख पर्यटकीयस्थलमा स्वदेशी तथा विदेशी पर्यटक लैजानका लागि सञ्चालन हुँदै आएका छन् ।

सोह्रखुट्टेबाट चल्ने पर्यटकीय बस बिहान ७ः०० बजे स्वदेशी तथा विदेशी पर्यटक बोकेर पोखरा, सौराहा, लुम्बिनी र जनकपुर जाने गरेका छन् । टुरिष्ट बस एशोसिएसन अफ नेपाल (टिवान)का अध्यक्ष भीष्म न्यौपाने सरकारले पर्यटक बसलाई उपेक्षा गरेको बताउछन् ।

“सरकारले पर्यटनमार्फत मुलुकको अर्थतन्त्रलाई उकास्ने भनिरहेको छ, तर पर्यटक बसका लागि पार्किङ गर्न छुट्टै बसपार्क नहुँदा समस्या परेको छ”,  उहाँ भन्नुहुन्छ । राज्यले पर्यटकीय बसपार्कले पहिलो प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । विश्वका धेरै मुलुकले पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारीसाधनलाई छुट्टै बसपार्कका रुपमा विकास गरेको भए पनि नेपालमा भने विकास नगरेको अध्यक्ष न्यौपाने बताउछन्।

कान्तिपथ सडकबाट बसपार्क हटाएर सोह्रखुट्टे लगे पनि सरकारले राजधानीको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेल क्षेत्र वरपर नै बसपार्क निर्माण गर्नुपर्ने अध्यक्ष न्यौपानेको भनाइ छ । 

हाल काठमाडौँबाट पोखरा, चितवनको सौराहा, लुम्बिनी र जनकपुरका लागि झण्डै १०० पर्यटकीय बस आवतजावत गर्दै आएका छन् । उक्त सवारीसाधनले दैनिक दुई हजारदेखि तीन हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटकलाई गन्तव्यस्थलमा पु¥याउँदै आएका छन् ।

टिवानका पूर्वध्यक्ष एवं बाबा एड्भाञ्चर प्रालिका सञ्चालक प्रह्लाद लोहनी पर्यटक बसको बसपार्क निर्माणका लागि टिवानले पहिलेदेखि नै सम्बन्धित निकायमा झकझक्याउँदै आए पनि हालसम्म बसपार्क निर्माण हुन नसकेको बताउछन्।  सरकारले पर्यटक बसपार्क निर्माणका लागि आवश्यक चासो नदिँदा बसपार्क बन्न नसकेको उनको भनाइ थियो । 

व्यवसायीले हाल बिहान ५ः०० देखि ७ः०० बजेसम्म सोह्रखुट्टे सडकमा पर्यटकीय बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन् भने रातको समयमा विभिन्न ग्यारेजमा शुल्क तिर्न बाध्य छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्