जुम्ला। जुम्लाको गुठिचौर गाउँपालिका–१ मा अवस्थित आकासे ताल पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ। समुद्री सतहदेखि ४,७०० मिटर उचाइमा रहेको ताल हिमालको फेदमा बसेर प्रकृतिको मनोरम दृश्यावलोकन गर्न सकिने स्थलको रूपमा पर्यटकको रोजाइमा परेको हो।
वडाध्यक्ष अर्जुनकुमार महताराका अनुसार, ताल २०७६ मा पत्ता लागेको थियो र सृजना सिज्जु नेतृत्वको टोलीले पहिलो पटक सार्वजनिक गरेपछि पर्यटकको आकर्षण बढेको हो। यस वर्ष दसैँ–तिहारमा दैनिक ५० जना भन्दा बढी आन्तरिक पर्यटक ताल भ्रमणमा आएका थिए।
तालसम्म पुग्न गुठिचौर–१ मौरेसम्म रु ५० लाखको लागतमा सडक निर्माण भइसकेको छ। हाल करिब ३ किलोमिटर लामो पदमार्ग निर्माण आवश्यक छ। पर्यटक बस्नका लागि धर्मशालाको पनि व्यवस्था गरिएको छ।
स्थानीय अजित थापाले भने, “तालको सुन्दर दृश्यले पर्यटक मोहित हुन्छन्। प्रचारप्रसार र पूर्वाधार विकास भएमा स्थानीयको आर्थिकस्तर सुधार हुने र रोजगारीका अवसर सिर्जना हुने छ।”
तालको नियमित नापजाँच, पर्यटन प्रवर्द्धन र आवश्यक बजेट विनियोजनका लागि गुठिचौर गाउँपालिकाले पहल थालेको छ। पर्यटक आकासे तालको निलो पानी र हिमालको फेदमा फैलिएको दृश्यावलोकनबाट प्रभावित हुँदै फर्कन्छन्।
 
 
					 
 


 
					 
					 
					 
					







