समय : ०३:४० pm | बिहिबार , चैत्र १९ गते २०८२

प्रधानमन्त्रीलाई निजी क्षेत्रले भन्यो- हामी दुःखी छौँ तर हिम्मत हारेका छैनौँ, फेरि उठ्छौँ

अर्थ विशेष | असाेज ५ गते २०८२

काठमाडौँ ।जेनजी प्रदर्शनका क्रममा औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा ठूलो क्षति पुगेको भन्दै निजी क्षेत्रले गहिरो दुःख व्यक्त गर्दै हार नमान्ने प्रतिबद्धता जनाएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीसँग भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रारम्भिक अनुमानअनुसार रु ८० अर्बदेखि रु एक खर्बसम्मको क्षति भएको बताए । उहाँले व्यावसायिक प्रतिष्ठानमाथि भएको तोडफोड र आगजनी नियतबस भएको हुनसक्ने भन्दै संलग्नलाई अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले हरेक आन्दोलनमा निजी क्षेत्र सबैभन्दा बढी मारमा पर्ने गरेको बताए । उहाँले निजी क्षेत्रलाई सहज बनाउन सहुलियतपूर्ण कर्जा, बिमा भुक्तानी प्रणालीलाई चुस्त बनाउनुपर्ने र अल्पकालीनदेखि दीर्घकालीन रणनीति तयार गर्नुपर्ने बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेश सिंहले देशभर साढे नौ लाख लघु तथा साना उद्योगमध्ये पाँच लाखजति अझै नवीकरण हुन नसकेको बताए । उहाँले नवीकरण शुल्कमा छुट दिनुपर्ने, बिमाको दायरा बढाउनुपर्ने र साना उद्योगलाई लक्षित नीति ल्याउनुपर्ने बताए ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले उद्योग–व्यवसायमा आक्रमण हुनु दुःखद् भएको भन्दै सम्पत्तिको सुरक्षा र लगानीमा विश्वास जगाउन सरकारले विशेष एकीकृत सुरक्षा योजना ल्याउनुपर्ने बताए । साथै, आयकर र भ्याटमा छुट दिनुपर्ने, सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्नुपर्ने र युवालाई स्वदेशमै रोजगारी दिने आर्थिक योजना आवश्यक रहेको बताए ।

निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले आन्दोलनलाई निराशा र भ्रष्टाचारविरुद्धको प्रतिक्रियाका रूपमा चित्रण गर्दै सरकारले भ्रष्टाचारमुक्त नेपाल निर्माणका लागि ठोस पहल गर्नुपर्ने बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्