काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही भदौ २४ गतेको आन्दोलनका क्रममा आयोग र मातहतका कार्यालयहरुबाट लुटपाट एवं चोरी भएका सामान बुझाउन अनुरोध गरेको छ ।
आयोगले उक्त सामग्रीहरू काठमाडौंको हकमा प्रहरी वृत्त मालीगाउँ, काठमाडौं वा यस आयोगको कार्यालय टङ्गालमा र आयोगका मातहत कार्यालयको हकमा तत्तत् कार्यालय वा नजिकको प्रहरी कार्यालयमा आई सामान बुझाई दिनसमेत अनुरोध गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालले एक सार्वजनिक सूचना प्रकाशित गरी भदौ २४ गते आन्दोलनका क्रममा यस आयोग र मातहतका कार्यालयहरु (इटहरी, हेटौँडा, पोखरा, बुटवललगायत) मा भएको तोडफोड, आगजनी र चोरी एवं लुटपाटबाट सवारीसाधनहरु (चारपाङ्ग्रे र दुईपाङ्ग्रे), टिभी, कम्प्युटर सेट, माइक्रो ओभन, विभिन्न साइजका हार्ड डिस्क, स्क्यानर, क्यामरा, आइप्याड, मोबाइल, ल्यापटप, हिटर, पङ्खालगायत सामानहरु लुटपाट एवं चोरी भएकाले उक्त सामान बुझाउन अनुरोध गरेको हो ।
उक्त तोडफोड र चोरीमा संलग्नहरुको सिसिटिभी फुटेजमार्फत पहिचान गर्ने कार्य भइरहेको हुँदा कोही कसैले आयोग र आयोग मातहत कार्यालय परिसरबाट यस्ता सामग्री लिएको वा प्राप्त गरेको भए उक्त सामग्रीहरु काठमाडौंको हकमा प्रहरी वृत्त मालीगाउँ, काठमाडौं वा यस आयोगको कार्यालय टङ्गालमा र आयोगका मातहत कार्यालयको हकमा तत्तत् कार्यालय वा नजिकको प्रहरी कार्यालयमा आई सामान बुझाई दिन अनुरोध छ । अन्यथा कानुनबमोजिम भइजाने व्यहोरासमेत जानकारी गराइन्छ, आयोगद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।