समय : १२:५५ am | मङ्गलबार , चैत्र २३ गते २०८२

पश्चिम बागलुङका किसान आलु भित्र्याउन व्यस्त

अर्थ विशेष | भाद्र २९ गते २०८२


ढोरपाटन । बागलुङको पश्चिम क्षेत्रका किसान यतिबेला आलु भित्र्याउने चटारोमा छन् । जिल्लाको निसीखोला, तामाखोला गाउँपालिका सहित ढोरपाटन र गलकोट नगरपालिकाको केही स्थानका किसानलाई आलु भित्र्याउन भ्याइनभ्याइ छ । अहिले बर्खे आलु भित्र्याउने याम रहेको हुँदा अधिकांश किसान बारीमा भेटिन्छन् । एउटै किसानले धेरै क्षेत्रमा आलुखेती गर्दै आएका छन् ।

आलु उत्पादनका हिसाबले प्रसिद्ध मानिने ढोरपाटन उपत्यका, निसीखोलाको भल्कोट, सीप, लुप्राबाङ, निसेलढोर, गलकोटको पाण्डवखानी, रमुवालगायत स्थानका किसान बारीमै भेटिने गरेका छन् । हरेक वर्ष बागलुङमा रु एक अर्ब बढीको आलु उत्पादन हुँदै आएको छ । यहाँका किसानले चैतमा आलु लगाउने र असोज पहिलो सातासम्म भित्र्याउने गर्छन् । यतिबेला ढोरपाटनका अधिकांश किसान आलु भित्र्याउनमा व्यस्त गरेको स्थानीय झकेन्द्र सुनारले बताए ।

एक साता अगाडिसम्म भारी वर्षा भइरहेको हुँदा बारीमा हिलोका कारण जान नसकेको भन्दै अहिले वर्षा रोकिएपछि किसानले धमाधम आलु भित्र्याउने काम गरिरहेको उनले बताए । आफूले ढोरपाटनमा करिब ७० रोपनी जग्गामा आलु लगाएको सुनाउँदै यस वर्ष राम्रो उत्पादन भएको सुनारले सुनाए । ढोरपाटन क्षेत्रका किसानले असोज १० गतेसम्म आलु भित्र्याइसक्ने उनी बताउँछन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्