‘काठमाडौ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रलाई थप व्यवस्थित गर्न ‘सहकारी ऐन, २०७४’ लाई संशोधन गरिने बताएका छन् ।
सहकारी पत्रकार समाजको १५औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित पुरस्कार वितरण समारोहमा उहाँले कानुनी समस्या नहुने गरी सहकारी क्षेत्रलाई अनुशासित र व्यवस्थित गर्न आवश्यक परेकाले समयसापेक्ष रूपमा परिवर्तन गरिने धारणा राख्नुभयो । सहकारी ऐन संशोधन भएपछि सोहीअनुसार कार्यविधि पनि बनाइने मन्त्री अधिकारीले जानकारी दिए ।
सहकारी क्षेत्रमा समस्या आएपछि त्यसलाई व्यवस्थित गर्न सहकारी नियमन प्राधिकरण, कर्जा असुली न्यायधीकरणलगायत संरचना बनिसकेको बताउँदै उनले बाँकी संरचना पनि बनाउने क्रममा रहेको मन्त्री अधिकारीले जानकारी दिए ।
सहकारी महासङ्घका अध्यक्ष ओमदेवी मल्लले सहकारीबाट व्यापार, व्यवसाय गर्न ऋण लगेकाले नतिरेकै कारण समस्या आएको बताउँदै कसरी पैसा उठाउने भन्नेतिर पनि सरकारको ध्यान जानुपर्ने धारणा राखे । सहकारीले सकारात्मक काम पनि गरेकाले नकारात्मक विषय सच्याउँदै जानुपर्ने उनको भनाइ छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड ९नेफ्स्कून०का अध्यक्ष चन्द्रप्रसाद ढकालले संसदीय छानबिन समितिले दिएको सुझावअनुसार सहकारी नियमन प्राधिकरण बनेपछि सहकारी क्षेत्रमा सुधार हुने आशा गरिएको बताए । उनले एक वर्ष बित्न लाग्दा पनि अधिकांश काम नभएर असन्तुष्टि आउन थालेकाले कामलाई तीव्रता दिन अनुरोध गरे। प्राधिकरणबाट नयाँ निर्देशन पनि आउने गरेपनि अझै बचत ऋणको स्पष्ट परिभाषा भने हुन नसकेको उनको विचार थियो ।
कार्यक्रममा सहकारी क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान एवं पुरस्कृत गरिएको थियो ।









