काठमाडौं । सांसदहरुले चाडपर्व निजिकिएसँगै यातायत सहज रुपमा सञ्चालन गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् । दशैँतिहारमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुहरुको चापको मध्यनजर गर्दै सिटभन्दा बढी यात्रु राख्ने, तोकिएको भाडाभन्दा बढी असुल्ने लगायतका गतिविधि बढ्ने भएकाले कडा निगरानी गर्न माग सांसदहरुले गरेका छन् ।
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसद शोभा ज्ञवालीले चाडपर्व निजिकिएसँगै यात्रुहरुलाई सहज रुपमा यात्राको व्यवस्था मिलाउन ध्यानकार्षण गराइन् । उनले बस व्यवसायीहरुले तोकिएको भाडाभन्दा बढी असुल्ने, यात्रुहरुलाई धम्की दिनेजस्ता सास्ती यात्रुहरुले भोग्नुपरेको बताइन् ।
सांसद शान्ति चौधरीले दशैँमा घर फर्किनका लागि अग्रिम टिकट बुकिङमा पनि यात्रुहरु ठगिनुपरेको भन्दै महँगो भाडा लिने, सिटभन्दा बढी यात्रु राख्ने गरिएको बताइन् । उनले बर्सातको बेलामा बाटो बिग्रेकाले यथाशीघ्र निर्माण कार्यमा ध्यान दिनुपर्ने बताइन् ।
सांसद सीता गुरुङले नजिकिँदो चाडपर्वमा दैनिक उपभोग्य खाद्यवस्तु र लत्ताकपडामा कृत्रिम अभाव सिर्जना गराउने सम्भावना भएकाले अनुगमन गर्न प्रभावकारी टिम बनाउन माग गरे । उनले बिग्रेका बाटाको निर्माणमा प्राथमिकता दिन, चाडपर्वका बेला सडक र हवाई यातायातमा सहज टिकटको व्यवस्था र मनपरि भाडा असुल्नेलाई कडा अनुगमन गर्न माग गरिन् ।
सांसद शेरबहादुर कुँवरले पनि उखु किसानको पैसा तुरुन्त भुक्तानी गर्न आग्रह गरे । सांसद सरिता भुसालले पनि उखु किसानको अनुदान नरोक्न र बाँकी रकम भुक्तानी गर्न सरकारलाई ध्यानाकर्षण गराइन् ।
सांसद सरस्वती बजिमयले सरकारले इम्बोस्ड नम्बर प्लेटमा नेपाली अक्षरमै लेख्न र तिनुपर्ने राजस्वलाई घटाउन आग्रह गरे । सुहाङ्ग नेम्वाङले इम्बोस्ड नम्बर प्लेट जोड्ने निर्णय जनतालाई थप सास्ती दिने निर्णय भएको बताउँदै यो निर्णय स्थगित गरी आवश्यक पूर्वाधार, प्रविधिलाई सुनिश्चित गरी मात्र चरणबद्ध रुपमा अघि बढाउनुपर्ने माग गरे ।