काठमाडौं । नेपाली हवाई क्षेत्रमा तेस्रो ठूलो कम्पनीको रुपमा रहेको श्री एयरलाईन्सले आईपीओ निष्काशन गर्ने भएको छ । सञ्चालक समितिको भदौ ९ गते बसेको बैठकले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने निर्णय गरेको हो ।
साढे दुई दशकदेखि नेपाली हवाई क्षेत्रमा सञ्चालनमा रहेको श्री एयरलाइन्सले आन्तरिक हवाइ क्षेत्रमा १६ प्रतिशत (जुलाई २०२४) हिस्सा ओगट्दै तेस्रो स्थानमा रहेको छ । आईपीओ जारी गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको वार्षिक साधारण सभा असोज २ गते कम्पनीको रजिष्ट्रर्ड कार्यालयमा बिहान ११ बजे बोलाएको छ ।
सभामा कम्पनी भित्रका यावत गतिविधि एवं आईपीओ निष्काशन गर्ने शिलशिलामा हालसम्म भए गरेका कार्य प्रगतिको समीक्षा एवम् भावी कदमको सम्बन्धमा छलफल गर्नेछ । यस्तै, आईपीओ निष्काशनका लागि आवश्यक प्रबन्ध पत्र र नियमावलीमा शंसोधन गर्न अख्तियारी दिनेछ ।
यस्तै, आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ । कम्पनीले १० वटा बम्बार्डियर विमानहरू सञ्चालन गरिरहेको छ । जसमा फिक्स्ड-विङ खण्डमा ३ जेट र ७ टर्बो प्रोप्स (भाडामा २ टर्बो प्रोप्स सहित) समावेश छन् । साथै, रोटर खण्डमा ६ वटा एमआई-८ हेलिकप्टर र दुई एयरबस सञ्चालनमा रहेको कम्पनीले जनाएको छ ।
कम्पनीको नेपालगञ्ज र धनगढीमा बलियो उपस्थिति छ । साथै तीन नयाँ टर्बो प्रोप्स विमान थपिएसँगै कम्पनीले पोखरा, सुर्खेत लगायत क्षेत्रमा पनि उडान विस्तार गरेको छ । यसले कम्पनीको बजार हिस्सा बढ्नुका साथै आम्दानी समेत वृद्धि हुने कम्पनीको बुझाइ छ ।









