काठमाडौं । हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज, काठमाडौंका प्रिन्सिपल तथा वालिङ, ११ छतिवनका तोयानारायण पौडेलले सामुदायिक विद्यालय सुधारको विषयमा प्रस्तुती गरेका छन् । शनिबार वालिङमा विद्यालय शिक्षा सबलीकरण सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै पौडेलले सामुदायिक विद्यालय सुधारको विषयमा विशेष प्रस्तुती दिएका हुन् ।
पौडेलको प्रस्तुती नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिकाका सदस्य, विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका प्रतिनिधि सहभागी बीचमा भएको थियो । शिक्षाको गुणस्तरमा वृद्धि, विद्यार्थीको उपलब्धि अनुगमनका निम्ति नयाँ विधि, सिमान्तकृत समुदायका विद्यार्थीलाई अध्ययनमा सहयोग, शिक्षकको प्रस्तुतीमा सुधार लगायतका उद्देश्य राखेर उनको प्रस्तुतीमा विषयवस्तु समावेश थिए ।
पौडेलको विचारमा सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न सकिने उपाय
सिकाइको लागि विद्यालयको भौतिक वातावरणमा सुधार गर्नुपर्ने उनको धारणा छ । त्यसका विद्यालयमा लागि बहुआयामिक सूचना तथा सञ्चार कक्षा, विज्ञान प्रयोगशाला तथा पुस्तकालय, विद्यार्थीमैत्री फर्निचर, उचित प्रकारको पर्खाल हुनुपर्ने उनको धारणा छ ।
त्यस्तै, विद्यार्थीको उमेरअनुसारको पाठ्यक्रम, सिकाईमा पोस्टर, खेल र खेल सामग्री हुनुपर्ने उनले प्रस्तुतीमा बताए ।
सिर्जनात्मक शिक्षण विधि, डिजिटल सामग्रीको प्रयोग र कक्षाकोठा व्यवस्थापनको दृष्टिकोणबाट शिक्षक लक्षित तालिम विस्तार गर्नुपर्ने, साथै, कृषि, प्रविधि र व्यावसायिक तथा व्यवहारिक शिक्षामा सिकाइमार्फत प्रवर्धन गर्नुपर्ने पौडेलको प्रस्तुतीमा समावेश थियो । वास्तविक समाजलाई बुझ्नेगरी र समुदायसँग प्रत्यक्ष जोडेर सिकाइ गराउनुपर्नेमा उनले जोड दिएका थिए ।
सिकाइको सुधारका लागि समुदायको सहभागितमा पनि पौडेलले जोड दिएका छन् । विद्यालय सञ्चालनको अनुगमन, स्थानीय आवश्यकताअनुसारको पाठ्यक्रम निर्माणमा सुझाव र जनशक्ति तथा स्रोत साधनको व्यवस्थापनमा समुदायले विशेष सहयोग गर्नुपर्ने उनको धारणा छ ।
शिक्षामा सुधारका लागि साना बालबालिकालाई अंक र खेलको माध्यमबाट, ५ देखि ९ वर्षसम्मका लागि प्रत्यक्ष खोज, कला, कम्प्युटर, योगा, संगीत लगायतका विषय समावेश गरेर अध्यापन गराउनुपर्ने उनले बताए । त्यस्तै, ४ कक्षादेखि ८ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई आधारभूत दक्ष बन्ने अवधारणा, कला, वातावरण र मौलिक अध्ययन थप गर्न जरुरी रहेको उनको भनाइ छ ।

९ देखि १२ कक्षासम्मका विद्यार्थीलाई भने सरकारले तोकेको पाठ्यक्रम बाहेक अतिरिक्त पाठ्यक्रममा लगाउनुपर्ने पौडेलको जोड छ । साथै, उनले विषयगत, वस्तुगत, परियोजना, फिल्ड अध्ययन र व्यवहारका आधारमा कक्षाकोठा जाँच हुनुपर्ने बताए ।
भौतिक वातावरणको हिसाबले हरियाली र सुरक्षित विद्यालय हुनुपर्ने, वातावरणमैत्री पूर्वाधार, खेल्ने कक्ष र विद्यार्थीको व्यक्तिगत लकरमा उनको जोड छ । साथै, शिक्षक सशक्त भए शिक्षाको गुणस्तरमा विकास सम्भव भएको शिक्षकलाई उत्प्रेरणा जगाउनुपर्ने र शिक्षकलाई विभिन्न विधिको आधारमा प्रोत्साहन प्रदान गर्नुपर्ने पौडेलले बताए ।
त्यस्तै, उनले सिकाइमा सुधारको लागि प्रधानाध्यापकको भूमिका, सह–प्रधानाध्यापकको भूमिका, शिक्षकको भूमिका र व्यवस्थापन समितिको भूमिकाको विषयमा पनि स्पष्ट प्रस्तुती गरेका थिए ।
५० हजार भन्दा बढी जनसंख्या भएको वालिङमा नगरपालिकाको १४ वटा वडामा ७० वटा सामुदायिक विद्यालय छन् । पौडेलको प्रस्तुतीले सामुदायिक विद्यालयमा शिक्षा सुधारको लागि महत्वपूर्ण पहल भएको कार्यक्रममा सहभागी भएका सहभागी तथा सरोकारवालाले प्रतिक्रिया दिएका छन् ।









