गण्डकी। पोखरा भ्रमण वर्ष–२०२५ घोषणासहित आफ्ना विभिन्न पर्यटकीय गतिविधि बढाइहेको पोखरा महानगरपालिकाले भ्रमण वर्ष घोषणा भएका स्थानीय पालिकामध्येको तनहुँको बन्दीपुरमा त्यहाँका सम्बद्ध अधिकारीहरूबीच पर्यटकीय साझेदारीलगायतका विषयमा अन्तरक्रिया गरेको छ ।
प्रकृति, संस्कृति र ऐतिहासिकताले सम्पन्न पहाडी रानी उपमा पाएको बन्दीपुरमा सोमबार पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई नेतृत्वको टोलीले पोखरा र बन्दीपुरबीचको पर्यटकीय साझेदारीका सम्भावनाका सम्बन्धमा छलफल गरेको हो ।
दिगो पर्यटनको विकासका लागि स्थानीय पालिकाहरूसँग सहकार्य गर्दै अघि बढ्ने योजनाअनुरुप भ्रमण वर्ष घोषणा भएका पालिकाहरूसँग छलफल एवं अन्तरक्रिया बढाइएको पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले बताए । “हामी योसँगै गण्डकी प्रदेशभित्रका ८५ वटै पालिकासँग छलफल बढाउने तयारीमा छौँ”, उनले भने, “पर्यटनको विकास केवल एउटैले गरेर मात्र हुँदै एकापसमा गरिने सहकार्यले दिगो पर्यटन विकासलाई महत्वपूर्ण सहयोग पु¥याउँछ ।”
नेपाल भित्रिएका सबै पर्यटकलाई पोखरा ल्याउने र पोखरा आएका पर्यटकलाई आसपासका पर्यटकीय गन्तव्यमा पु¥याउन एकापसमा साझेदारी र सहकार्य आवश्यक रहेको उनले बताए ।
साझेदारी र सहकार्यकै लक्ष्यका साथ आइतबार मात्रै भ्रमण वर्ष घोषणा गरिएको गोरखा नगरपालिकामा सम्बद्ध अधिकारीहरूसँग छलफल एवं अन्तरक्रिया गरिएको उनले जानकारी दिए ।
बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङले पोखरासँगको पर्यटकीय साझेदारीले बन्दीपुरको पर्यटनमा महत्वपूर्ण प्रभाव पार्ने विश्वास व्यक्त गरे । “बन्दीपुर पहाडको रानी भएजस्तै पोखरा प्रकृतिको राजा भएकाले एकापसामा गरिने सहकार्यले दुुवै गन्तव्यको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्छ”, उनले भने, “यसका लागि एकापसमा सहकार्य आवश्यक छ, हामी सहकार्य गर्दै अघि बढ्न इच्छुक छौँ ।”
“काठमाडौँ आएका पर्यटक कसरी गण्डकीमा प्रवेश गराउने ?”, उनले थपे, “काठमाडौँबाट हिँडेको पर्यटकलाई बन्दीपुर हुँदै पोखरा लैजाऔँ, फर्किंदा पनि एक रात बन्दीपुर बसाएर पठाऔँ’ यसले दुवै ठाउँले लाभ लिन पाउँछन् ।”
बन्दीपुर भ्रमण वर्ष–२०२५ का संयोजक बैशबहादुर गुरुङले पर्यटकीय गन्तव्यहरुबीच एकापसको सहकार्यले दिगो पर्यटनमा योगदान पुग्ने धारणा राखे । एकापसका गन्तव्यको पर्यटकीय साझेदारीका लागि अगुवाइ पोखराले लिनुपर्ने बताउँदै उनले सामूहिक प्रयासले हामी सबैलाई फाइदा पुग्ने उल्लेख गरे ।
पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिमिल्सिनाले पर्यटनमा सहकार्य बढाउँदै त्यसको लाभ सामूहिक रुपमा लिनसक्ने वातावरण तयार गर्ने लक्ष्यका साथ स्थानीय पालिकाहरूसँग साझेदारीको अभियान सुरु गरिएको बताए । पोखरालाई पर्यटन राजधानी घोषणा गरेपछि पर्यटन सम्बद्ध क्षेत्रको विकासका लागि पोखरामा एसियाली विकास बैङ्कलगायत विकास साझेदारहरूबाट ठूलो लगानी हुन लागेको उनले जानकारी दिए ।
पर्यटकीय साझेदारीका लागि आफूहरू बन्दीपुर आएको स्पष्ट पार्दै उनले पोखरा आएका पर्यटकलाई बन्दीपुरमा पठाउने र यहाँ आएका पर्यटकलाई पनि पोखरा पठाउन आग्रह गरे । पोखरा भ्रमण वर्ष–२०२५ कार्यसम्पादन समितिका सह–संयोजक दामोदरभक्त थापाले एकापसका गन्तव्यबाट पर्यटक आदानप्रदान गर्न सकेमा सामूहिक लाभ लिन सकिने बताउँदै यसका लागि सहकार्य जरुरी भएको धारणा राखे ।
नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष डिपी अधिकारीले भ्रमण वर्ष घोषणा भएका पालिकाहरू एकै ठाउँमा बसेर पर्यटकीय साझेदारीलगायतका विषयमा नीतिनिर्माण बढ्दै अघि बढ्न सकेमा समग्र पर्यटको विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने बताए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले एकापसको पर्यटकीय सहकार्यले दुवै गन्तव्य लाभान्वित बन्ने बताए । यसबाट पर्यटकको बसाइ लम्ब्याउन योगदान पुग्नाका साथै पर्यटकले गर्ने खर्च पनि बढाउने उनले बताए ।
पोखरा भ्रमण वर्ष–२०२५ कार्यसम्पादन समितिका सदस्यसचिव एवं महानगरपालिका आर्थिक विकास महाशाखाप्रमुख मनहर कडरियाले पोखरा पर्यटन राजधानी घोषणा भएसँगै विकास साझेदार संस्थाहरू पनि लगानीका लागि इच्छुक भएको बताए ।
पर्यटनमा साझेदारी बढाउँदै त्यसले समग्र पर्यटनको विकासमा महत्वपूर्ण सहयोग पुग्ने उल्लेख गर्दै उनले त्यसैको खोजी गर्न आफूहरु विभिन्न पालिकाको भ्रमणमा निस्किएको बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटकीय गन्तव्यबीच सहकार्य हुँदा त्यसबाट पर्यटकको बसाइ लम्ब्याउन सघाउने बताए ।
महिला व्यवसायी रामकली खड्काले बन्दीपुरमा विगतमा चकटी, गुन्द्री आदि उत्पादन हुने गरेकामा अहिले त्यो हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे । परम्परा र मौलिकता जोगाउँदै अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
बन्दीपुर भ्रमण वर्ष–२०२५ का सदस्य राजु बानियाँले प्राचीन मौलिकताले सम्पन्न बन्दीपुरमा उक्त मौलिकपन हराउँदै नयाँ आधुनिक घर बन्दै गएकामा चिन्ता व्यक्त गरे । प्राचीन मौलिकता जोगाउनका लागि नीति आवश्यक भएको उनको भनाइ छ ।
उद्योग वाणिज्य सङ्घ बन्दीपुरका अध्यक्ष घनश्याम खड्काले पुरानो मौलिकतालाई जोगाउनका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाएर अघि बढ्नु आवश्यक भएको धारणा राखे ।