काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद जीवन परियारले आशा गरेअनुसार भन्दा नीति तथा कार्यक्रम कमजोरी भएर आएको बताए ।
आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उनले आशा गरेअनुसार नीति तथा कार्यक्रम आउन नसकेको भन्दै कार्यान्वयन चुनौतीपूर्ण रहेको धारणा राखे ।
‘सरकारले आगामी आर्थिक वर्षका लागि तय गरेको नीति तथा कार्यक्रमा केही कुरा दोहोरिएका छन् । केही कुरा नयाँ पनि आएका छन् । त्यसैले मिश्रित प्रकृतिको छ,’ उनले भने, ‘पुँजीगत बजेट खर्च हुन सकिरहेको छैन । आयोजना तथा परियोजना समयमा सम्पन्न हुन सकिरहेको छैन । नीति तथा कार्यक्रममा आएका सकारात्मक विषय बजेटमा आउनुपर्छ ।’
सांसद परियारले सरकारको कमजोरी र निजी क्षेत्रको क्षमताका कारण बजेट कार्यान्वयनमा चुनौती थपिएको बताए । ‘सबै दलहरूको आर्थिक परराष्ट्र नीति र सामाजिक रुपान्तरणको नीतिमा साझा धारणा बनाउन सकेमा मुलुकको समृद्धि सम्भव छ,’ उनले भने ।