समय : ०७:३५ pm | बिहिबार , वैशाख २५ गते २०८२

‘नीति तथा कार्यक्रमले दिगो र सन्तुलित आर्थिक विकासलाई केन्द्रमा राखेको छ’

अर्थ विशेष | वैशाख २५ गते २०८२


काठमाडौँ। नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मुलुकको आवश्यकता र दिगो तथा सन्तुलित आर्थिक विकासलाई केन्द्रमा राखेर ल्याएको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै पूर्वअर्थमन्त्रीसमेत रहेका सांसद कार्कीले मुलुकमा केही भएन भन्ने नकारात्मक भाष्यलाई नीति तथा कार्यक्रमले खण्डन गर्न सफल भएको बताए।

नीति तथा कार्यक्रम जनकेन्द्रित रहेको उल्लेख गर्दै उनले विकासका लागि दीर्घकालीन रूपमा सार्थक प्रयास गरिनुपर्नेमा जोड दिए। दलगत स्वार्थभन्दा माथि उठेर मुलुकलाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न पहल गर्नुपर्ने उनको भनाइ थियो।

सांसद कार्कीले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय प्राथमिकताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए। कृषि क्षेत्रको विकासका लागि आधुनिक प्रणालीमा जोड दिनुपर्ने र रासायनिक मल कारखाना स्थापनाका लागि पर्याप्त बजेट विनियोजन गर्न उनले सरकारलाई सुझाव दिए। पर्यटन क्षेत्रको विकासका लागि सहज हवाई यातायातको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए। ठूला भवन बनाएर मात्र शैक्षिक क्षेत्रको विकास नहुने भन्दै शिक्षा र स्वास्थ्यका लागि ठोस पहलकदमी लिन ढिलाइ गर्न नहुने उनको भनाइ थियो। नाराले नभई सकारात्मक र सार्थक नीति लिएर मात्र मुलुकलाई समृद्ध बनाउन सकिने उनले बताए।

सांसद सुनिता बरालले सरकारको नीति तथा कार्यक्रमको सफलता र सार्थक कार्यान्वयनको कामना गर्दै आर्थिक कूटनीतिका विशेष योजना अगाडि बढाउन जरुरी रहेको बताइन्। नीति तथा कार्यक्रममा समावेश गरिएको युवा केन्द्रित स्टार्टअप उद्यमलाई पर्याप्त बजेटको व्यवस्था गरी सहज कार्यान्वयनका लागि मार्ग प्रशस्त गर्नुपर्ने उनको भनाइ थियो। मानव विकास र भौतिक विकासलाई सँगसँगै लैजानुपर्नेमा जोड दिँदै सांसद बरालले अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाको क्षमता अभिवृद्धि गर्नेतर्फ पहल गर्नुपर्ने बताइन्। नीति तथा कार्यक्रममा समावेश गरिएका कार्यक्रमलाई बजेटमार्फत कार्यान्वयनका लागि थप पहल गर्नुपर्नेमा उनले जोड दिइन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्