समय : ०६:५० pm | मङ्गलबार , वैशाख २३ गते २०८२

कोहलपुर–सुर्खेत प्रसारण लाइनअन्तर्गतको विवाद समाधान गर्न उर्जामन्त्रीको निर्देशन

अर्थ विशेष | वैशाख २३ गते २०८२

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनअन्तर्गत बाँकेको बानियाभार क्षेत्रमा देखिएको विवाद समाधान गर्न निर्देशन दिएका छन्।

मन्त्री खड्काले आज आयोजना प्रमुख रविकुमार चौधरीलाई मन्त्रालयमा बोलाएर आयोजना विस्तारका क्रममा उक्त क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका हुन्।

बाँकेको बैजनाथ गाउँपालिका ४ बाँनियाभार क्षेत्रमा स्थानीयको अवरोधका कारण तीन वटा विद्युत टावर निर्माण हुन नसकेपछि मन्त्री खड्काले आयोजना निर्माणको क्रममा भइरहेको ढिलाईबारे चासो राखेका थिए।'स्थानीयवासीले राखेका मागलाई उचित सम्बोधन गरेर आयोजनालाई तत्काल अगाडि बढाउनुहोस्, विकासको कामलाई अगाडि बढाउँदै गर्दा सामान्य मान्छे नमरोस्,' मन्त्री खड्काले भने। उनले आयोजनाभित्र परेका घरलाई उचित क्षतिपूर्ति दिँदा पीडितको पुर्नवासको सुनिश्चितता गर्नसमेत निर्देशन दिए।

भेटमा आयोजना प्रमुख चौधरीले स्थानीयवासीको अवरोधका कारण आयोजना अगाडि बढाउन नसकिएको मन्त्रीसमक्ष जानकारी गराए। उक्त क्षेत्रमा तीन वटा विद्युत टावर बन्न बाँकी रहेको उनको भनाइ थियो।

विं.सं. २‎‎०७७ भदौ ७ गते सम्झौता भई दुई वर्षभित्र प्रसारण लाइनको निर्माण, डिजाइन, परीक्षण, वितरणदेखि प्लान्टको खरिदसम्मका काम गरिसक्नुपर्ने सम्झौता भए पनि स्थानीय अवरोधका कारण उक्त काम ढिलाई भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्