काठमाडौं । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको चीनको सिचुवान प्रान्तस्थित छेन्दुको उडानलाई निरन्तरता दिन सबैको सहयोग आवश्यक रहेको बताए ।
पोखरा पर्यटन परिषदद्वारा पोखरामा आयोजित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको छेन्दुमा गरिएको पहिलो व्यावसायिक चाटर्ड उडानका सहभागीलाई सहभागिताको प्रमाणपत्र वितरण गर्दै उनले उक्त उडानसँगै पोखराबाट अन्तर्राष्ट्रिय उडानका सम्भावना बढेको बताए ।
पहिलो अन्तर्राष्ट्रिय उडानका क्रममा छेन्दु, लुझाउ, छोङछिङलगायत सहरमा भएका कार्यक्रमले दुई देशबीचको सम्बन्धसँगै पर्यटकीय साझेदारीलाई उजागर गरेको बताउँदै उनले सिचुवान एयरलाइन्सको धेरै देशमा रहेको सञ्जालको उपयोग गर्नुपर्नेमा जोड दिए ।
चीनको माउन्ट कैलाश नजिकै निर्मित आली विमानस्थलमा पोखराबाट सिधा उडान गर्न सकिएमा त्यसले यहाँको अर्थतन्त्रलाई थप महत्त्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा–छेन्दु पहिलो व्यावसायिक चाटर्ड उडानमा नेपाल पर्यटन बोर्डको आयोजनामा छेन्दुु र छोङछिङमा गरिएका ‘बिटुबी’ तथा ‘सेल्स मिसन’ले यहाँको पर्यटनमा योगदान पुर्याएको बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पहिलो सफल उडानसँगै पोखरा चीनको सम्बन्धलाई थप उजागर गरेको बताए ।
परिषदका महासचिव एवं कार्यक्रम संयोजक जीवनराज सापकोटाले पहिलो व्यावसायिक उडानमा साथ र सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे । परिषदका संस्थापक अध्यक्ष अशोक पालिखे, रामकली खड्का, दीपक पहारी लगायतले चीनको विकाससँगै त्यहाँको अनुशासन, सरसफाइलगायत अनुकरणीय रहेको धारणा राखे ।