समय : ०४:१२ am | बिहिबार , चैत्र ४ गते २०८२

जुम्लाका किसानलाई भेडा वितरण

अर्थ विशेष | जेठ २१ गते २०८१

जुम्ला। जुम्लाको कनकासुन्दरी गाउँपालिकाले स्थानीय किसानलाई भेडा वितरण गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटबाट कनकासुन्दरी –७ का १८ किसानलाई भेडा वितरण गरिएको कनकासुन्दरी गाउँपालिको पशुपन्छि विकास शाखाका प्रमुख लालबहादुर रावतले बताए

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सात लाख रुपैयाँ, लाभग्राहीबाट चार लाख २० हजार र कनकासुन्दरीको दुई लाख ८० हजार रुपैयाँको लागतमा भेडा खरिद गरिएको थियो ।


गडुनानी साझेदारी भेडा पकेट समूहले ९० भेडा र दुई थुमा खरिद गरेर किसानलाई वितरण गरिएको हो । उक्त समूहका २७ सदस्यमध्ये पहिलो पटकमा १८ किसानलाई भेडा वितरण गरिएको हो ।

कनकासुन्दरी क्षेत्र भेडापालनका लागि जिल्लाका अन्य स्थानीय तहभन्दा उपयुक्त ठाउँ मानिन्छ । पालिकामा भेडा पकेट कार्यक्रम रहेकाले यसभन्दा पहिलेका वर्षहरुमा पनि अन्य वडामा पनि भेडा वितरण गरिएको गाउँपालिका अध्यक्ष दामोदर आचार्यले बताए ।

पशु अस्पताल तथा पशुसेवा कार्यालयका अनुसार जुम्लामा हाल ८४ हजार तीन सय ८८ भेडा रहेका छन् । यसैगरी बाख्राको सङ्ख्या ४६ हजार तीन सय ६ रहेको कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले जानकारी दिए । जिल्लामा ६९ हजार हेक्टर चरन क्षेत्र रहेको छ ।

कार्यालयबाट भेडापालक किसानलाई विभिन्न किसिमका सीपमूलक तथा प्राविधिक तालिम दिँदै आएको कार्यालयले जनाएको छ । पछिल्लो समयमा जुम्लाका स्थानीय किसान भेडापालनमा आकर्षित हुन थालेका छन् । बजारमा भेडाको माग बढ्न थालेपछि स्थानीय भेडापालनमा आकर्षित भएको बताइन्छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्