तनहुँ । तनहुँको बन्दीपुरका महिलालाई व्यावसायिक बनाउन ढाकाको कपडा बुनाइसम्बन्धी तालिम प्रदान गरिएको छ । गाउँपालिकाद्वारा गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रममार्फत महिलालाई ढाकाको कपडा बुन्ने तालिम प्रदान गरेको हो ।
महिलालाई व्यावसायिक बनाउँदै आयआर्जनसँग जोड्ने दुईमहिने ढाकाको कपडा बुनाइ तालिम सुरु गरिएको छ । गाउँपालिकाले महिलाको जीवनस्तर उकास्न विभिन्न सीप प्रदान गर्दै आएको गाउँपालिका अध्यक्ष पञ्चमाया गुरुङले बताए । उनले भने,‘गत स्थानीय तहको निर्वाचनमा हामी निर्वाचित भएर आएपछि यहाँका महिलालाई लक्षित गरी विभिन्न प्रकारका सीपमूलक तालिम सञ्चालन हुँदै आएको छ, ढाकाको कपडा बुनाइ पनि सोहीअन्तर्गतको हो ।
महिला दक्ष बन्नुपर्ने जनाउँदै गुरुङले दक्ष भए अरुको भरपर्न नपर्ने बताए । उनले भने,‘महिलालाई आत्मनिर्भर बनाउन उहाँहरुकै रुचि र मागअनुसारका तालिम सञ्चालन गर्छौं, आइतबारदेखि ढाकाको कपडा बुन्ने तालिम सुरु भएको छ ।’तालिमका क्रममा ढाकाको धागोमार्फत टोपी, सल, पछ्यौरा, हाते झोला र खादाजस्ता सामग्री उत्पादन गर्न सिकाइनेछ । सहभागीलाई चार तानमार्फत ढाकाका विभिन्न सामान उत्पादन गर्नका लागि प्रशिक्षण दिइएको उद्यम विकास सहजकर्ता टीका आलेमगरले बताए । तालिममा सात महिलाको सहभागिता छ ।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले तालिमका नाममा तालिम दिने मात्र नभई प्रयोगमा ल्याउँदै आर्थिक पाटोमा जोडिन आग्रह गरे । उनले भने,‘तालिमलाई व्यावहारिकरुपमा उतार्न सकिए आत्मनिर्भर बन्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुहोला, तालिम लिइसकेपछि पनि त्यस्ता महिलालाई के सहयोग गर्न सकिन्छ हामी गछौँ ।’