समय : ०७:२१ am | बिहिबार , श्रावण १५ गते २०८२

बाल अस्पताल निर्माणमा नेपाल लाइफले गर्‍यो १ करोड सहयोग

अर्थ विशेष | असार ३० गते २०८२


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई राजधानीको बुढानीलकण्ठमा निर्माणाधीन बाल अस्पतालका लागि १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । यो सहयोग कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको हो

किओचको कार्यालयमा आयोजित कार्यक्रममा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र किओचका संस्थापक अध्यक्ष डा। भगवान कोइराला बीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।बुढानीलकण्ठ नगरपालिका–७ मा निर्माण भइरहेको बहुविशिष्टिकृत बाल अस्पताल ‘किओच–काठमाडौं’ को मुख्य भवन निर्माण अन्तिम चरणमा पुगेको छ । त्यहीँ क्लिनिकल रिसर्च बिल्डिङ निर्माण भइसकेको र सेवा सञ्चालन भइसकेको जानकारी दिइएको छ । अस्पतालमार्फत बिरामी बालबालिकालाई सेवा दिनुका साथै बाल स्वास्थ्य तथा नसर्ने रोगसम्बन्धी अनुसन्धान पनि अघि बढाउने योजना रहेको छ ।कार्यक्रममा नेपाल लाइफका संचालक कमलेश कुमार अग्रवालले डा. कोइरालाको नेतृत्वमा भइरहेको यो परियोजनाले नेपालका बालबालिकाको स्वास्थ्य सुधारमा अतुलनीय योगदान दिने विश्वास व्यक्त गरे । उनले यस्तो सामाजिक परियोजनामा निजी क्षेत्रको सहभागिता बढ्नुपर्ने र राज्यले लिएका लक्ष्यहरूमा टेवा पुग्ने बताए ।

नेपाल लाइफका सीईओ प्रवीण रमण पराजुलीले शैक्षिक, स्वास्थ्य र सांस्कृतिक रूपान्तरणमा कम्पनीको सक्रियता रहेको उल्लेख गरे । आर्थिक रूपमा कमजोर वर्गका बालबालिकालाई गुणस्तरीय सेवा दिने उद्देश्यले सहयोग गरिएको र आगामी दिनमा पनि देशभर यस्ता पहलहरूमा संलग्न रहने प्रतिबद्धता व्यक्त गरे ।

किओचका अध्यक्ष डा. भगवान कोइरालाले नेपाल लाइफको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै यसले अस्पताल निर्माणलाई गति दिने बताए । उनले यस्ता सहयोगहरूले काम गर्न थप उत्साह दिने उल्लेख गर्दै, 'नेपाल लाइफ जस्तो प्रतिष्ठित संस्थासँगको सहकार्यले किओचको गरिमा अझ बढेको छ,' भने ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्