समय : ०६:३८ pm | बिहिबार , फागुन ७ गते २०८२

भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु

अर्थ विशेष | फागुन ७ गते २०८२

चितवन । चितवनको भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु गरिएको छ । नेपाल आयल निगमले बुधबारदेखि इन्धन ‘रिफिलिङ’सेवा सुरु गरेको हो ।

निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले भरतपुरमा हवाई यात्रा गर्ने सवारीको चाप बढेसँगै रिफिलिङ काउन्टर सञ्चालनमा ल्याइएको बताए । उनले हवाई इन्धनका कारण यात्रुलाई असुविधा नहोस् भनेर सेवा सुरु गरिएको बताए ।

हाल यहाँबाट दैनिक आठवटा उडान हुँदै आएको बताउँदै उनले आवश्यकताअनुसार हवाई इन्धन भर्न सक्नेगरी व्यवस्था मिलाइएको जानकारी दिए ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार भरतपुरमा दुईवटा रिफिलिङ काउन्टर स्थापना गरिएको छ, जहाँबाट दैनिक २२ हजार लिटर हवाई इन्धन उपलब्ध गराउन सकिने छ । हाललाई लिमिटेडको सिनामङ्गल कार्यालयमा रहेका छ जना कर्मचारीमार्फत सेवा सुरु गरिएको उनले जानकारी दिए ।

यहाँबाट हाल दैनिक भरतपुर–काठमाडौँ–भरतपुर र आंशिक रूपमा भरतपुर–पोखरा– भरतपुर उडान हुँदै आएको छ । बुद्व एयरका स्टेसन म्यानेजर भक्तबहादुर बस्नेतले रिफिल काउन्टर स्थापना भएसँगै यात्रु तथा जहाजलाई सहज भएको बताए । 'अब जहाजले तेल बोकेर आउनुपर्ने समस्या हुने छैन, जसका कारण काठमाडौंबाट आउने जहाजमा थप यात्रु ल्याउन पाइने छ', उनले भने ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्