मुस्ताङ ।बेनी–जोमसोम–कोरला राष्ट्रिय गौरवको सडक आयोजनाअन्तर्गत हालसम्म १३ पुल निर्माण सम्पन्न भई हस्तान्तरण भएका छन् भने तीन पुल निर्माणको अन्तिम चरणमा पुगेका छन्। २०७३/७४ सालदेखि सुरु भएको यो व्यापारिक मार्गलाई छिमेकी भारत–चीन जोड्ने महत्वपूर्ण पूर्वाधारका रूपमा लिइन्छ।
आयोजनाका इन्जिनियर विष्णु चापागाईँका अनुसार निर्माणमा ढिलासुस्ती र प्राकृतिक विपद्का कारण तीन पुलको ठेक्का सम्झौता तोडिएको छ। तीमध्ये म्याग्दीको अन्नपूर्ण–३ स्थित रुप्सेखोला, थासाङ–४ खहरेखोला र वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीका पुल समावेश छन्।
आयोजनाअन्तर्गत म्याग्दी र मुस्ताङ खण्डमा अनेकौँ पुल निर्माण सम्पन्न भइसकेका छन्। राहुघाट र घट्टेखोला पुल हस्तान्तरण भइसकेको आयोजनाले बताएको छ। मुस्ताङ खण्डमा थासाङ–३ स्थित लेते खोला, सेतो खोला, छाक्ताङ खोला, मार्फाखोला, स्याङ खोला, पान्डा खोला, छुसाङ नरसिंह खोला, चराङ खोला लगायतका पुलहरू निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन्।
माथिल्लो मुस्ताङमा लोमान्थाङ खोला, किम्लिङ खोला, नाम्डोक खोला र भर्मा खोला पुलसमेत गत आवमै हस्तान्तरण गरिएको छ। यसैगरी सेतो खोला, मार्फाखोला, नरसिंह खोला, चराङ खोला र किम्लिङ–भर्मा खोला पुल २०८१/८२ मा पूर्ण भएर सञ्चालनमा आएका थिए।
हाल निर्माणाधीन तीन पुल—थासाङ–४ कैकु खोला, थासाङ–२ लार्जुङ खोला र लोघेकर दामोदरकुण्ड–२ घमी खोला—८० प्रतिशतभन्दा बढी भौतिक प्रगति पुगेको इन्जिनियर चापागाईँले बताए। चालु आवभित्रै यी पुल हस्तान्तरण हुने अपेक्षा गरिएको छ। फाउन्डेसन, स्ल्याब ढलान सकिए पनि एप्रोच रोड र फिनिसिङका केही कार्य बाँकी रहेको उनले जानकारी दिए।
आयोजनाले हालसम्म कोरला सडकमा छवटा बेलिब्रिजसहित पक्की र बेलिब्रिज कुल १९ पुल निर्माण गरिसकेको छ। बेनीको काली पुल, तातोपानी, रुप्से, कागबेनी सहित थासाङ र टुकुचे क्षेत्रका बेलिब्रिज सञ्चालनमा छन्। यसबाहेक, आयोजना बाहिरका कार्यालय मार्फत पर्वतको मालुढुङ्गादेखि मुस्ताङ खण्डसम्म आठ पक्की पुल निर्माण सम्पन्न भएका छन्।
दमुवाखोला, लस्ती खोला, मिलनचोक खोला, बेनीस्थित कालीगण्डकी खोला, बेग खोला, तिप्ल्याङ खोला, पोखरे बगर खोला र जोमसोमस्थित कालीगण्डकी खोला पुल यिनैमध्ये हुन्। जोमसोमको कालीगण्डकी पुल भारतीय दूतावासको सहयोगमा निर्माण भएको हो।









