समय : ०४:०६ pm | आइतबार , कार्तिक १६ गते २०८२

यसवर्ष पनि भएन मध्यपहाडी लोकमार्गको बागलुङ-घोडाबाँधे सडक कालोपत्र

अर्थ विशेष | जेठ २५ गते २०८१

बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ(घोडाबाँधे सडक यसवर्ष पनि कालोपत्र नहुने भएको छ । २६ वर्ष अगाडि ट्र्याक खुलेको लोकमार्ग कालोपत्र गर्न झण्डै एक दशकअगाडि निर्माण कम्पनीलाई जिम्मा दिइएकामा काम नगर्दा चालु आर्थिक वर्षमा पनि नसकिने भएको हो।

कालोपत्र गर्न दुई खण्डमा गरी ठेक्का लगाइएको थियो। बागलुङ नगरपालिका(४ उपल्लाचौरबाट काठेखोला गाउँपालिका(५ इनारपानी घुम्तीसम्मको पहिलो खण्डमा ८० प्रतिशत र इनारपानी घुम्ती भन्दामाथि घोडा बाँधेसम्मको दोस्रो खण्डमा ७४ प्रतिशत मात्रै काम भएको मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतले जनाएको छ।


दोस्रो खण्ड इनारपानी घुम्तीबाट घोडाबाँधेसम्मको ठेक्का पाएको निर्माण कम्पनी काम नगरेर कालो सूचीमा परेपछि सडक अलपत्र परेको छ, भने पहिलो खण्डमा निर्माण कम्पनीले सुस्त गतिमा काम गरिरहेको सूचना अधिकारी इञ्जिनियर धीरज ढकालले जानकारी दिए।

पहिलो खण्ड उपल्लाचौरबाट १३ किलोमिटर सडकको भारतरसिद्धिसाई जेभीसँग विसं २०७३ माघमा दुई वर्षमा सक्नेगरी सम्झौता गरिएको थियो।

अहिलेसम्म पाँच पटक म्याद थप गर्दा सात किलोमिटर सडक मात्रै कालोपत्र गरेको छ भने अझै छ किलोमिटर रहेको उनको भनाइ छ। इञ्जिनियर ढकालका अनुसार यस खण्ड चालु आर्थिक वर्षमा नसकिने भएपछि निर्माण कम्पनीले आगामी पुस मसान्तसम्म सक्नेगरी म्याद थप गरेको छ।

दोस्रो खण्ड विसं २०७२ माघमा जिम्मा पाएको एमपीरएससीएफरई सिसी जेभी गत पुसमा सूचीमा परेको थियो। तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरे पनि नौ वर्षसम्म काम नगर्दा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको थियो।

काठेखोला गाउँपालिकाको बिहुँबाट घोडाबाँधेसम्म १२ किलोमिटर सडक एमपी सितानी एण्ड सन्स पश्चिम बङ्गाल भारत सूर्य कन्स्ट्रक्सन फर्म सुर्खेत र एलिट कन्स्ट्रक्सन प्रालि सुकेधारा काठमाडौँले संयुक्त रुपमा ठेक्का लिएका थिए। यस खण्डका लागि अर्थ मन्त्रालयले गत फागुनमा ३३ करोड स्रोत सुनिश्चित गरेको थियो।

अहिले उक्त खण्डको ठेक्का प्रक्रिया अगाडि बढाउन प्राविधिक मूल्याङ्कनको काम भइरहेको इञ्जिनियर ढकालले बताए। उनले यसवर्षको बर्खा लाग्न सुरु भएकाले कालोपत्रको काम नहुने बताए। कालोपत्र गर्न बर्खामा नमिल्ने हुँदा असोजपछि मात्रै काम हुने उनको भनाइ छ।

पहिलो खण्डको काम सम्पन्न गर्न सुरुमा ३९ करोड ७१ लाखमा सम्झौता गरेकामा उक्त लागत बढेर ४३ करोड ६५ लाख पुगेको इञ्जिनियर ढकालले जानकारी दिए। अहिले निर्माण कम्पनीले काम गरे पनि अपेक्षा अनुसार गर्न नसकेको उनको भनाइ छ।

हालसम्म पाँचौँ पटक म्याद थप गरेको हुँदा आगामी पुस मसान्तसम्म जसरी पनि सक्नुपर्ने भन्दै दबाब दिएको इञ्जिनियर ढकालले बताए। उहाँका अनुसार यस खण्डमा २० प्रतिशत मात्रै काम गर्न बाँकी छ।

ुपहिलो खण्डअन्तर्गत उपल्लाचौरबाट कोपिला घुम्तीसम्मको काम भइरहे पनि अपेक्षा अनुसार भएको छैन। यी दुई खण्डकै काम धेरै अगाडि सकिनुपर्ने हो, तर निर्माण कम्पनीको लापरबाहीले अहिलेसम्म सकिन सकेको छैनु, इञ्जिनियर ढकालले भने, ुपहिलो खण्ड ८० र दोस्रो ७४ प्रतिशत मात्रै काम भएको छ, दोस्रो खण्डको केही दिनमै ठेक्का प्रक्रिया अगाडि बढ्ने छ।ु

लोकमार्ग खुलेको डेढ दशक बित्दा पनि कालोपत्र नहुँदा स्थानीयवासीले सास्ती खेप्नु परेको काठेखोला(५ का नन्दप्रसाद कँडेलले बताए। बर्खामा हिलो र हिउँदमा धुलोका कारण सडक छेउछाउका बस्तीनै विस्थापित हुनुपरेको उनले गुनासो पोखे।

हिउँदमा सडकको धुलोले घरै पुरिने हुँदा स्थानीयले घर सम्पत्ति छोडेर भाग्नु परेको कँडेलको भनाइ छ। राज्यले काम नगर्ने ठेकेदारलाई कारबाही नगर्दा यो स्थिति आएको उनले बताए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्