समय : ०९:१२ am | शनिबार , कार्तिक १५ गते २०८२

नयाँ उद्योग व्यवसाय दर्ता घट्दो, बन्द गर्ने क्रम बढ्दो

अर्थ विशेष | श्रावण १३ गते २०८२

काठमाडाैं। पछिल्लो ६ वर्षयता मकवानपुरमा नयाँ उद्योग व्यवसाय दर्ता घट्दो र बन्द गर्ने क्रम बढ्दै गएको छ।

मकवानपुरमा गत आर्थिक वर्ष २०८१/८२ मा उद्योगतर्फ ४१८ र वाणिज्यतर्फ २६० नयाँ उद्योग व्यापार दर्ता भएको छभने सो आवमा उद्योगतर्फ २८१ र वाणिज्यतर्फ ३६१ उद्योग व्यवसाय बन्द भएको उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसालले जानकारी दिए।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा उद्योगतर्फ ३६६ र वाणिज्यतर्फ ३३५ नयाँ उद्योग व्यापार दर्ता भएकामा उद्योगतर्फ २६८ र वाणिज्यतर्फ ३३६ उद्योग व्यापार बन्द भएको थियो। गत आर्थिक वर्ष २०७९/८० मा उद्योगतर्फ ५७९ र वाणिज्यतर्फ ४३० नयाँ उद्योग व्यापार दर्ता हुँदा उद्योगतर्फ र वाणिज्यतर्फका गरी २८३ वटा उद्योगको लगत कट्टा गरिएको थियो।

यसअघि आव २०७८/७९ मा उद्योगतर्फ ७६७ र वाणिज्यतर्फ ७७० नयाँ दर्ता भएको थियो। सो आर्थिक वर्षमा उद्योगतर्फ र वाणिज्यतर्फ गरी ११० वटा उद्योग व्यापारको मात्र लगत कट्टा भएकोे थियो।

आव २०७७/७८ मा उद्योगतर्फ ८२० र वाणिज्यतर्फ ८१० नयाँ उद्योग व्यापार दर्ता भएकामा सो आवमा उद्योगतर्फ र वाणिज्यतर्फ गरी ३४० को लगत कट्टा गरिएको सो कार्यालयको तथ्यांकले देखाएको छ। आव २०७६/७७ मा उद्योगतर्फ एक हजार ५३६ र वाणिज्यतर्फ एक हजार ५२५ नयाँ उद्योग व्यापार दर्ता भएको थियो। सो आवमा उद्योगतर्फ र वाणिज्यतर्फका गरी २४० उद्योग व्यापारको लगत कट्टा गरिएको थियो।

यसरी पछिल्लो ६ वर्षमा नयाँ उद्योग व्यापार दर्ता घट्दै जाँदा उद्योग व्यापार बन्द हुने क्रम बढ्दै गएको छ।विभिन्न निकायबाट अनुदान प्राप्त गर्न उद्योग व्यवसाय दर्ता गराउने र अनुदान पाइसकेपछि बन्द गर्ने प्रवृत्ति, छोराछोरीलाई विदेश पठाउन व्यावसायिक पुँजी देखाउन मात्र व्यापार व्यवसाय दर्ता गराउने र पछि छोराछोरी विदेश गएपछि व्यापार व्यवसाय बन्द गर्ने, व्यापार घाटा हुनु र उद्योग कार्यालयमा दर्ता भएपछि स्थानीय तहमा समेत दर्ता गराउनुपर्ने दोहोरो व्यवस्थाका कारण पनि उद्योग व्यापार दर्ताभन्दा बन्द गराउने क्रम बढेको प्रमुख भुसालको भनाइ छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्