समय : ०६:३५ pm | बुधबार , श्रावण १४ गते २०८२

स्याङ्जामा उद्योग तथा पसलको सङ्ख्या घट्दो

अर्थ विशेष | श्रावण १ गते २०८२

वालिङ (स्याङ्जा) । जिल्लामा उद्योग तथा पसलको सङ्ख्या दिनानुदिन घट्दो छ । उद्योग तथा व्यापार व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको जनाउँदै उद्योगी, व्यवसायीले पसल दर्ता खारेजी गर्न थालेका हुन् ।

आर्थिक वर्ष २०८१/८२ मा पर्यटन तथा उद्योग कार्यालयमा नयाँ उद्योग दर्ता हुनेभन्दा खारेजी हुनेको सङ्ख्या धेरै रहेको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए ।उनका अनुसार आव २०८१/८२ मा १७७ नयाँ उद्योग दर्ता भएकामा २६३ वटा खारेजी भएका छन् । वाणिज्यतर्फ सोही आवमा १४२ वटा नयाँ दर्ता भएकामा १९७ वटाको दर्ता खारेजी गरिएको छ । आर्थिक वर्ष २०८०/८१ मा २५० वटा नयाँ उद्योग दर्ता भएका थिए । सोही आवमा २२६ वटाको दर्ता खारेजी भएको थियो ।

वाणिज्यतर्फ १८५ वटा नयाँ दर्ता हुँदा २३४ वटाको दर्ता खारेजी भएको उनले जानकारी दिए । विगतका तुलनामा पछिल्ला वर्षमा व्यापार व्यवसाय घटेकाले उद्योग तथा व्यापार व्यवसाय दर्ता खारेजी गर्न निवेदन बढी आएको जनाइएको छ ।

खारेजी भएकामा बढी कृषि तथा पशुपालन फार्म, खाजा घर, रेष्टुरेन्ट, कुटानीपिसानीका उद्योग, फेन्सी पसल छन् । अनुदान लिन फार्म सञ्चालन गर्ने र अनुदान लिएपछि फार्म बन्द गर्ने पनि देखिएका छन् ।

उद्योग तथा व्यापार ब्यवसायको दर्ता खारेजी हुनु अर्थतन्त्रका दृष्टिले राम्रो सङ्केत नभएको वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष चेतनारायण श्रेष्ठ बताउँछन् । पछिल्लो समय देशमा देखिएको आर्थिक मन्दीका कारण पनि उद्योग तथा व्यापार व्यवसायमा कठिनाई भएकाले खारेजी गर्ने बढेका हुनसक्ने उनको भनाइ छ ।

आव २०८१/८२ मा विविध शीर्षकबाट पर्यटन तथा उद्योग कार्यालयले ५५ लाख ५५ हजार ७७० राजस्व सङ्कलन गरेको थियो । आव २०८०/८१ मा भन्दा आव २०८१/८२ मा २२ लाख बढी राजस्व सङ्कलन भएको हो ।

नवीकरण गर्न एक वर्ष नाघेका फाइल जरिवाना भुक्तानी गरेर नवीकरण गर्न पाउने नियम आएसँगै गत आवमा राजस्व बढेको कार्यालयले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्