काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १६ अर्ब २३ करोड रुपैयाँ खुद नाफा गरेका छन् । गत आवको सोही अवधिमा बैंकले १३ अर्ब ३४ करोड रुपैयाँ खुद नाफा गरेका थिए ।
पहिलो तीन महिनामा ८ वटा बैंकले एक अर्ब बढी नाफा गरेका छन् । बैंकहरूको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार सो अवधिमा सबैभन्दा बढी नाफा नबिल बैंकले गरेको छ । सो अवधिमा नबिल, ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, प्राइम कमर्सियल, एनएमबि, एभरेष्ट, कुमारी र प्रभु बैंकले नाफा एक अर्ब बढी कमाएका हुन् ।
यो अवधिमा नबिलले २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ नाफा गरेको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकले १ अर्ब ५१ करोड २१ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ४६ करोड ४० लाख, प्राइम कमर्सियलले १ अर्ब २८ करोड ६७ लाख, एनएबि बैंकले १ अर्ब १४ करोड ५६ लाख, कुमारीले १ अर्ब ७ करोड ८१ लाख र प्रभु बैंकले १ अर्ब ४ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेका छन् ।
तीन महिनाको अवधिमा नबिलले करिब ४० प्रतिशतले नाफा बढाएको छ भने ग्लोबलले २३.३६ प्रतिशत, प्राइमले ११.७५ प्रतिशत, एनएमबिले १९ प्रतिशत, एभरेष्टले ४४ प्रतिशत, कुमारीले ३०८ प्रतिशत र प्रभुले ०.६२ प्रतिशत नाफा बढाएको छ । त्यस्तै, सो अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा भने करिब ४ प्रतिशतले कमी आएको छ ।
यो अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८६ करोड २२ लाख, नेपाल एसबिआईले ८१ करोड ४६ लाख, हिमालयनले ७२ करोड ६४ लाख, नेपाल बैंकले ६० करोड २१ लाख र लक्ष्मी सनराइज बैंकले ५३ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
त्यस्तै चालु आर्थिक वर्षको तीन महिनामा माछापुच्छ्रे बैंकले ५० करोड ३२ लाख, सानिमाले ३९ करोड ९५ लाख र सिद्धार्थ बैंकले ३८ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ । सो बैंकले गत आवको सोही अवधिको तुलनामा ७९१ प्रतिशत नाफा बढाएको तथ्यांकले देखाएको छ । गत आवको सोही अवधिमा भने यस बैंकको नाफा ४२ लाख रुपैयाँमा मात्रै सीमित थियो ।
यस्तै, सिटिजन्स बैंकले तीन महिनामा २४ करोड ६ लाख, कृषि विकासले १९ करोड ९ लाख, राष्ट्रिय वाणिज्य बैंकले १५ करोड र एनआईसी एशिया बैंकले ११ करोड रुपैयाँ खुद नाफा आम्दानी गरेका छन् ।









