समय : १०:३५ pm | सोमबार , चैत्र ९ गते २०८२

समृद्ध मुलुक निर्माणका लागि प्रविधिको उपयोग अपरिहार्य : प्रधानमन्त्री

अर्थ विशेष | असाेज १ गते २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । बाह्रौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा शुभकामना दिँदै उनले विज्ञानको संसारमा हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पुनः जागृत गर्नुपर्नेमा जोड दिएका छन् ।‘पूर्वीय दर्शनले सयौँ वर्षअघिदेखि कसरी वैज्ञानिक खोजलाई आफूमा समाहित गरेको थियो भन्ने प्रमाण हाम्रा शास्त्र र ग्रन्थहरूमा प्रष्ट छन् । हाम्रो शिक्षा प्रणाली परापूर्व कालमा असाधारण र विज्ञान प्रवर्तक थियो । समय क्रममा हामीले आफ्नो ढङ्गले यसलाई विकास गरेर जान सकेनौँ’, उनले भनेका छन्, ‘बाँकी संसारले ज्ञानको उज्यालोसँग साक्षात्कार गर्न नपाएको युगमा पनि विज्ञानका युगान्तकारी सिद्धान्त हाम्रो शिक्षा, शैक्षिक प्रणाली र मौलिक परम्परामा समेटिएका थिए । खगोलशास्त्र, भूगोलशास्त्र, औषधि विज्ञान, जीव विज्ञानको क्षेत्रमा हेर्दा हामी उहिल्यै अगाडि थियौँ । अब फेरि हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पनि पुनः जागृत गर्नुपर्नेछ ।’

प्रधानमन्त्रीले विकास–निर्माणका कामलाई द्रुत गतिमा कार्यान्वयन गर्न सरकारले विज्ञान र प्रविधिलाई मेरुदण्डका रूपमा अङ्गीकार गर्दै आर्थिक विकास एवं सामाजिक रूपान्तरणका साथै प्राविधिक विकासलाई उत्पादनको मूल आधार मानिएको बताए ।

‘सरकारले विज्ञान र प्रविधिको शिक्षालाई प्रगतिको वाहकका रूपमा अङ्गीकार गर्ने नीति लिएको छ । विज्ञान र प्रविधिको क्षेत्रमा विद्यमान संरचनाहरूको सशक्तीकरण र सबलीकरण पनि उत्तिकै आवश्यक रहेको छ । यस्ता सङ्गठनहरू उच्चस्तरीय आयोग बनाई पुनः संरचनाको खाका तयार गरी कार्यान्वयन गर्ने सरकारको दीर्घकालीन नीति रहेको छ’, उनले भनेका छन् ।

सरकारले अनुसन्धान तथा उद्यमशीलता प्रवर्द्धन गर्न आविष्कार कोष, ‘स्टार्टअप फण्ड’जस्ता वैज्ञानिक, अनुसन्धानकर्मी र देशमै उद्यम गर्न खोजिरहेका युवा केन्द्रित कार्यक्रमका लागि सरकारले बजेट विनियोजन गरेको जनाउँदै प्रधानमन्त्रीले विज्ञानको प्रयोग गरी तथ्यमा आधारित नीति, कार्यक्रम निर्माणमा केन्द्रित हुन आवश्यक रहेको बताएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्