समय : १०:४९ am | बिहिबार , फागुन २१ गते २०८२

आज प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान

अर्थ विशेष | फागुन २१ गते २०८२

काठमाडौँ । जेन्जी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ ।

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो । आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष)तर्फ १ सय ६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ १ सय १० स्थानका लागि निर्वाचन हुँदैछ ।

प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३ सय ८८ महिला र एक अन्य गरी तीन हजार ४ सय ६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३ सय ६३ पुरुष र एक हजार ७ सय ७२ महिला गरी तीन हजार १ सय ३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र २ सय अन्य गरी एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदाता छन् । यस्तै, एक लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि देशभर १० हजार ९ सय ६७ मतदानस्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिएका छन् । यस्तै, १ सय ४३ अस्थायी मतदानस्थल तय गरिएका छन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन सुरक्षाका लागि ७९ हजार ७ सय २७ नेपाली सेना, ७५ हजार ७ सय ९७ नेपाल प्रहरी, ३४ हजार ५ सय ६७ सशस्त्र प्रहरी बल, एक हजार ९ सय २१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन् । निर्वाचन गराउन दुई लाख १५ हजार कर्मचारी खटिँदैछन् । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कुल चार करोड २२ लाख ५१ हजार २ सय मतपत्र छपाइ गरी सम्बन्धित मतदान केन्द्रमा पु¥याइसकेको छ ।

यसपटकको निर्वाचनमा चार अन्तरराष्ट्रिय र ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतले निर्वाचन प्रक्रियामा उत्साहजनक रूपमा सहभागी भई मतदान गर्न आह्वान गरेका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्