काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले गत आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा वर्षमा कोषले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ६६ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष २०८१।८२ को पुससम्म कोषले ६२ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कोषको नाफा ६.९२ प्रतिशतले बढेको छ।अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कोषको ब्याज आम्दानी १०.२० प्रतिशतले घटेर १७ करोड ६४ लाख रुपैयाँमा खम्चिएको छ। अघिल्लो वर्ष यही अवधिमा कोषको ब्याज आम्दानी १९ करोड ३३ लाख रुपैयाँ थियो।
समीक्षा अवधिसम्म कोषले सेवा शुल्क तथा कमिसनबापत ८३ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो आम्दानी ८१ करोड १ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कोषको सेवा शुल्क तथा कमिसनबापतको आम्दानी ३.६२ प्रतिशतले बढेको छ।
चुक्तापुँजी ६ अर्ब ८० करोड ५७ लाख रुपैयाँ रहेको कोषको जगेडा कोषलगाायतका कोषको आकार ११.४६ प्रतिशतले बढेर २ खर्ब ९४ अर्ब ६५ करोड ३३ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष ती कोषमा २ खर्ब ६४ अर्ब ३५ करोड ९७ लाख रुपैयाँ थियो।
समीक्षा अवधिसम्म कोषको कुल लगानी २ खर्ब ९८ अर्ब ६७ करोड ८४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म कोषको कुल लगानी २ खर्ब ६४ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ थियो। एक वर्षमा कोषको लगानी १२.८० प्रतिशतले बढेको छ।
चालु आर्थिकको पुससम्म कोषको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) सामान्य बढेर १९.५५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १९.२० रुपैयाँ थियो। लगानीमा प्रतिफल ४.४९ प्रतिशत रहेको कोषको प्रतिसेयर नेटवर्थ १४२.४० रुपैयाँ रहेको छ।









