काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा विकसित घटनाक्रमबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक विधिप्रक्रियाबाट युवाले चाहेजस्तो देश निर्माण गर्न सरकार अग्रसर रहेको बताएकी छिन् ।जतिसुकै मतभेद भए पनि एकापसमा हातेमालो गर्दै आपसी संवाद र सहमतिका आधारमा मुलुकलाई राजनीतिक निकास दिनेगरी निर्वाचनका पक्षमा देश होमिएको कार्कीको भनाइ छ ।
‘तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद्’द्वारा आज टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले लोकतन्त्रको मुख्य आधार उल्लासमय वातावरणसहित स्वच्छ र निष्पक्ष निर्वाचन रहेको बताएकी हुन् ।
राजनीतिक दलका तर्फबाट उत्साहका साथ समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा पेस भएसँगै प्रतिनिधि सभा सदस्यको निर्वाचन सुनिश्चित भएको उनले बताइन् ।
आसन्न निर्वाचनका सन्दर्भमा जिम्मेवार राजनीतिक दलसहित र युवाहरूबाट प्राप्त अमूल्य सहयोगका लागि धन्यवाद दिँदै प्रधानमन्त्री कार्कीले सम्बद्ध सबै पक्षको सहयोगमा उत्साहपूर्ण ढङ्गबाट निर्वाचन सफल हुने विश्वास व्यक्त गरिन् ।शान्ति, सुरक्षाको प्रत्याभूतिसहित भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेकी छिन् ।









