काठमाडौँ । अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिको हालसम्म ११ करोड १५ लाख रुपैयाँ बराबरको बीमा रकम भुक्तानी भएको छ ।
बीमा प्राधिकरणका अनुसार गत असोज १८ गतेयताको अविरल वर्षा तथा बाढीपहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीमा कुल ७९० वटा प्रारम्भिक बीमादाबी परेको थियो । त्यसमा कुल ४ अर्ब १८ करोड २६ लाख रुपैयाँ प्रारम्भिक दाबी रकममध्ये हालसम्ममा कुल ९६ वटा दाबीको भुक्तानी भएको प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिए ।
विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र दुईवटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार निर्जीवन बीमा कम्पनीबाट सम्पत्ति बीमातर्फ ४१७ वटा प्रारम्भिक दाबीमध्ये ३३ वटाको भुक्तानी भएको छ । सम्पत्ति बीमामा ३ अर्ब ५८ करोड ३२ लाख रुपैयाँ बराबरको दाबी परेको थियो । प्राधिकरणका अनुसार सो दाबीमा ९ करोड ६४ लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ ।
त्यसैगरी, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०७ वटा बीमा दाबीको करिब ५१ करोड ५७ लाख रुपैयाँ मध्ये कुल सातवटा दाबीको ९ लाख रुपैयाँ बीमितलाई भुक्तानी भएको छ । कृषि तथा बाली बीमातर्फ २१० वटा बीमा दाबी परेको थियो । त्यसमा करिब ४ करोड १४ लाख रुपैयाँ दाबी रकममध्ये कुल ४२ वटा दाबीको १९ लाख रुपैयाँ भुक्तानी भएको छ ।









