समय : १२:४१ am | सोमबार , कार्तिक १६ गते २०८२

वीरगञ्ज नाकाबाट चार अर्ब ६१ करोडको खाद्यान्न आयात

अर्थ विशेष | कार्तिक १६ गते २०८२


=वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२÷८३ को तीन महिनामा रु चार अर्ब ६१ करोडको खाद्यान्न आयात गरिएको छ । धान, चामल, मकै, माल्टलगायतका १६ वटा खाद्यान्न वस्तु आयात गरिएका हुन् ।

गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा १६ खाद्यान्न रु एक अर्ब ५६ करोड बढीको आयात गरिएको छ । गत आवको तीन महिनाको अवधिमा रु तीन अर्ब चार करोड मूल्य बराबरका १६ थरिका खाद्यान्न यो नाका हुँदै आयात गरिएका थिए ।

 वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनामा खाद्यान्नको आयातमा वृद्धि भएको जानकारी दिए। “यो वर्षको पहिलो त्रैमासिकमा खाद्यान्नलगायतको वस्तुको आयातमा वृद्धि भएको छ”, उनले भने । चालु आवको तीन महिनाको अवधिमा रु अर्ब ८० करोड मूल्य पर्ने तीन करोड ३६ लाख १२ हजार ८१० किलोग्राम मकै आयात भएको छ । 

गत आवको तीन महिनामा भने रु एक अर्ब नौ करोड मूल्य पर्ने रु दुई करोड १६ लाख २७ हजार ९९२ किलोगाम मकै आयात भएको थियो । चालु आवको तीन महिनामा रु एक अर्ब ४६ करोड मूल्य पर्ने तीन करोड ९१ लाख एक हजार ३४२ किलोग्राम धान आयात भएको छ । गत आवको तीन महिनाको अवधिमा भने रु एक अर्ब छ करोड मूल्य पर्ने दुई करोड ९२ लाख ६२ हजार दुई सय किलोग्राम धान आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको तीन महिनाको अवधिमा रु ८९ करोड ८२ लाख मूल्य पर्ने ९४ लाख एक हजार ४३६ किलोग्राम चामल आयात भएको छ ।

त्यस्तै गत आवको तीन महिनाको अवधिमा पनि रु ४६ करोड ५३ लाख मूल्य पर्ने ३८ लाख ४७ हजार ८०४ किलोग्राम चामल आयात भएको थियो । यहाँ आयात हुनेमा माल्ट, फापर, कोदो, ग्लुटेन, फलफूलको मिठो, मकै वा अन्य अन्नको च्याखलाको पिठो, कनिका, दलहनको पिठोलगायतका १६ थरिका खाद्यान्न आयात हुने गर्छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्